खेलकुद |

विश्वकपमा पुग्नु कठिन काम हो तर सपना देख्नुपर्छ : प्रशिक्षक व्हाटमोर

प्रजित शाक्य
काठमाडौँ, माघ ८ गते । प्रमुख प्रशिक्षक डेभ ह्वाटमोरले एकदम खुशीका साथे आफूसँग भएको ज्ञान र अनुभव नेपाली क्रिकेटसँग साट्ने बताउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले क्वारेन्टाइन अवधि पूरा गरेपछि प्रशिक्षक ह्वाटमोरलाई बिहीबार औपचारिक रुपमा सार्वजनिक गरिएकाे हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले प्रशिक्षक ह्वाटमोरलाई एक कार्यक्रमसहित स्वागत गरेको हो ।ह्वाटमोरको लागि नेपाल नौलो गन्तव्य होइन । चार वर्षअघि नेपाली टिमलाई ‘हाई परफरमेन्स’ प्रशिक्षण दिन डेभ ह्वाटमोर नेपाल आउनुभएको थियो । त्यसैले नेपाली क्रिकेटसँग उहाँ परिचित हुनुहुन्छ।नेपाली राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका थिए । जसबाट ह्वाटमोर चयन हुनुभएको छ ।ह्वाटमोर नेपाली क्रिकेटले पाएको अहिलेसम्म उच्च स्तरको प्रशिक्षक हुनुहुन्छ । ह्वाटमोर सन् १९९६ मा श्रीङ्कालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाउने प्रशिक्षक हुनुहुन्छ । उहाँलाई ग्लोबल प्रशिक्षक भन्दा फरक पर्दैन । श्रीलङ्काबाहेक, पाकिस्तान, बङ्गलादेश र जिम्बाब्वेको प्रशिक्षक पनि भइसक्नुभएको छ ।सन् २००८ मा विराट कोहलीको प्रशिक्षकत्वमा भारतले यु१९ विश्वकप जित्दा ह्वाटमोर नै प्रशिक्षक हुनुहुन्थ्यो । नेपाल आउनुअघि उहाँ सिङ्गापुर क्रिकेट टिमका प्रशिक्षक हुनुहुन्थ्यो । अहिले ह्वाटमोरको काँधमा नेपालको एकदिवसीय मान्यतालाई कायम राख्ने टि२० क्रिकेटमा नेपाललाई पुनः विश्वकपमा पुर्याउनु दायित्व छ ।

प्रशिक्षक ह्वाटरमोर नेपालले विश्वकपमा पुग्ने सपना देखेको बारे पनि जानकार हुनुहुन्छ । त्यसैले उहाँ भन्नुहुन्छ– विश्वकपमा पुग्नु कठिन काम हो तर सपना देख्नुपर्छ र त्यहाँ पुग्ने प्रयास गर्नुपर्छ । सबैले मिलेर प्रयास गर्यो भने अवश्य मौका छ– उहाँले भन्नुभयो । नेपाली क्रिकेट टिमसँग काम गर्न धेरै इच्छुक छु । आफूसँग भएको ज्ञान नेपाली क्रिकेटलाई व्यक्तिगत व समूहगत रुपमा पनि बाँड्नेछु । मेरो सामू चुनौती छ तर यसले राम्रो काम गर्न प्रेरित गर्नेछ । आजदेखि नै मेरो काम सुरु भयो । उहााले आप्mनो कार्यकालमा नेपाली क्रिकेटका वरीयता सुधार गर्ने लक्ष्य पनि राख्नुभएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ह्वाटमोरलाई प्रमुख प्रशिक्षकको रुपमा पाउँदा खुशी भएको बताउँदै उहाँसँगको टेस्ट खेल्ने र एसोसिएट क्रिकेट राष्ट्रसँग प्रशिक्षक बनिसकेको अनुभवका कारण नेपाली क्रिकेटले धेरै अपेक्षा गरेको छ, भन्नुभयो ।महासचिव प्याकुरेलले प्रशिक्षक ह्वाटमोरसँग नेपाली क्रिकेटको प्राथमिकताबारे धेरै छलफल भइसकेको जानकारी दिनुभयो । त्यसमै आधारित रहेर उहाँले काम गर्नुहुनेछ । ह्वाटमोरको प्रशिक्षकत्वमा नेपालले एकदिवसीय वरीयतामा सुधार गर्ने प्रमुख लक्ष्य लिएको छ । यसैगरी, ग्रासरुटदखि नेपाली क्रिकेट चलायमान गर्न पनि क्यानले ह्वाटमोरको सल्लाह लिनेछ । प्रशिक्षक ह्वाटमोरलाई यु१९ क्रिकेट र महिला क्रिकेटको सल्लाहकारको रुपमा पनि प्रयोग गरिनेछ ।