खेलकुद |

एपीएफको लगातार दोस्रो जित, गण्डकी छ विकेटले हार्यो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको १२ औं खेलमा सशस्त्र प्रहरी बल(एपीएफ)ले गण्डकीमाथि छ विकेटको जित हात पारेको छ । समूह ए मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो ।
गण्डकीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य एपीएफले मात्र १७ ओभर तीन बलमा चार विकेटको क्षतिमा पूरा गरेको हो । एपीएफको जितमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेषले सर्वाधिक ७८ रनको योगदान दिनुभयो । उहाँले मात्र ५६ बलमा पाँच चौका र छ छक्काको विष्फोटक पारी खेल्नुभयो । सुमित महर्जनले १८ तथा कप्तान शरद् भेषवकारले पाँच रन बनाएर अविजित रहनुभयो ।
गण्डकीका लागि चन्द्र पौडेलले दुई विकेट लिनुभयो ।
यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको गण्डकीले ४६ ओभर खेले पनि मात्र १०६ रनमा समेटिन पुग्यो । गण्डकीका लागि समीर कँडेलले सर्वाधिक ३६ रनको योगदान दिनुभयो । विष्णु पाण्डे र दिपेश खत्रीले सामान १५÷१५ रन बनाए ।
गण्डकीलाई सस्तोमै समेट्न कमल ऐरीले दश ओभरमा तीन मेडन राख्दै ११ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । अनिवाश बोहरा र शरद भेषवकारले सामान दुई दुई र किशोर महतोले एक विकेट लिए ।
ऐरी प्लेयर अफ द म्याच घोषित हुनुभयो ।