एपीएफको चन्द्रपुरमाथि विशाल गोल अन्तरको जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । सशस्त्र प्रहरी बल(एपीएफ)ले चन्द्रपुर नगरपालिकामाथि ६–० को फराकिलो अन्तरको जित हात पारेको छ । एपीएफको जितमा सबित्रा भण्डारीले हयाट्रिक गोल गर्नुभयो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा राष्ट्रिय महिला लिगको दोस्रो खेलको १४ औं मिनेटमा सबित्राले एपीएफका लागि पहिलो गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । उहाँले अञ्जली योञ्जनको देब्रे खुट्टाले दिनुभएको क्रसलाई गोलमा परिणत गर्नुभयो । २२ औं मिनेटमा अञ्जली योञ्जनले सरु लिम्बुको कर्नरलाई गोलमा परिणत गर्नुभयो । ६२ औं मिनेटमा अनिता बस्नेतको पासलाई सबित्राले गोलको दिशा दिदै आफ्नो दोस्रो तथा एपीएफका लागि तेस्रो गोल गर्नुभयो । दुई मिनेटपछि भण्डारीले दिनुभएको पासलाई अनिता बस्नेतले गोलको दिशा दिदै एपीएफको अग्रता ४–० बनाउनुभयो । ७२ औं मिनेटमा भण्डारीले एकल प्रयासमा गोल गर्दै आफ्नो हयाट्रिक गोल पुरा गर्दा एपीएफले ५–० को अग्रता कायम गर्यो ।
एपीएफकी प्रिती राईले गर्नुभएको प्रहार चन्द्रपुरकी गोलरक्षक यूनिशा राईलाई छिचोल्दै गोलमा परिणत हुँदा एपीएफले ६–० को जित कायम गर्यो ।