पुनरागमन खेलमै शकीब प्लेयर अफ द् म्याच
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । शकीब अल हसनले आफ्नो पुनरागमन खेलमै उत्कृष्ट प्रदर्शन गरेपछि बङ्गलादेशले वेष्टइन्डिज विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल छ विकेटले जितेको छ । जितसँगै बङ्गलादेशले तीन खेलको श्रृखंलामा १–० को अग्रता लिएको छ ।
वेष्टइन्डिजले प्रस्तुत गरेको १२३ रनको लक्ष्य बङ्गलादेशले ३३ ओभर पाँच बलमा मात्र चार विकेटको क्षतिमा १२५ रन बनाएर पुरा गर्यो । बङ्गलादेशको जितमा कप्तान तामिम इकवालले सर्वाधिक ४४ रन बनाउनुभयो । शकीब अल हसन १९ रन बनाएर पेभेलियन फर्किदा विकेटकीपर ब्याट्सम्यान मुश्फिक्र रहिमले १९ तथा महमदुल्लाहले नौ रन बनाएर अविजित रहे ।
वेष्टइन्डिजका लागि अकैल होसेनले सर्वाधिक तीन विकेट लिनुभयो । जैसन मोहमदले एक विकेट लिनुभयो ।
यअसघ ढाकामा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाहुना टोलिले ५६ रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । कायल मेयर्सले रबमन पावेलसँग छैठौं विकेटका लागि ५९ रनको साझेदारी गरेर वेष्टइन्डिजको पारी उकास्नुभयो । पावेलले २८ रनको योगदान दिनुभयो । दुबैजना पेभेलियन फर्केपछि वेष्टइन्डिजको बाँकीको चार विकेट सात रन जोड्दा समेटिन पुग्यो । कायल मेयर्सले सर्वाधिक ४० रन बनाउनुभयो ।
वेष्टइन्डिजका लागि शकीब अल हसनले सात ओभरमा मात्र आठ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । हसन महमूदले तीन तथा मुस्तफीजुर रहमानले दुई र मेहेदी हसनले एक विकेट लिए । करिब एक वर्षभन्दा बढीको प्रतिबन्धपछि बङ्गलादेश क्रिकेट टोलिमा पुनरागमन गर्नुभएका शकीब अल हसन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।