खेलकुद |

नेपाल पुलिससँग लुम्बिनि ७४ रनले हार्यो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । नेपाल पुलिस क्लबले लुम्बिनिमाथि ७४ रनको फराकिलो अन्तरको जित हात पारेको छ । प्रतियोगिता अन्तगर्तको ११ औं खेलमा पुलिसले समूह बी अन्तगर्तको आफ्नो तीन खेलमध्ये दोस्रोमा जित हात पारेको हो ।
नेपाल पुलिसले प्रस्तुत गरेको ३११ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लुम्बिनिले पुरै ५० ओभर खेलेपनि सात विकेटको क्षतिमा २३६ रनको योगफल मात्रै जोडन पायो । विशाल लक्ष्य पछ्याउने क्रममा १०३ रनमा पाँच विकेट गुमाएको लुम्बिनिले संघर्षलाई निरन्तरता दिदै थप दुई विकेट गुमाउँदा १३३ रनको योगफल जोडन सफल भयो । उसको पारीमा सौरभ खनालले मात्र ६० बलमा ७४ रनको उत्कृष्ट पारी खेलेपनि जितका लागि पर्याप्त भएन । कप्तान कृष्ण कार्कीले २४ बलमा ४० रन बनाएर अविजित रहनुभयो । मध्यक्रममा सन्दीप रजालीले ४० तथा देव खनालले ४९ रनको पारी खेले ।
पुलिसका लागि राशिद खान र पवन सर्राफले सामान दुई दुई तथा सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पुलिसले पुरै ५० ओभर खेलेर चार विकेटको क्षतिमा ३१० रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो । उसको पारीमा ओपनर सुनिल धमलाले शतकीय पारी खेल्नुभयो । उहाँले १४५ बलमा सात चौका र एक छक्का लगाउनुभयो । मध्यक्रममा दिपेन्द्रसिंह ऐरीले ६१ बलमा ८५ रनको उत्कृष्ट पारी खेल्दै टोलिको योगफल २५० माथि कटाउनुभयो । ओपनर धमलाले ऐरीसँग तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गर्नुभयो ।
६१ बलको सामना गर्नुभएका ऐरीले एक चौका र छ छक्का लगाउनुभयो ।
पारीको पूर्बाद्र्धमा ब्याटिंग गर्न आउनुभएका पवन सर्राफले मात्र १३ बलमा एक चौका र छ छक्काको सहयोगमा ५० रनको अविजित पारी खेलेर टोलिको योगफल ३१० सम्म पुर्याउनुभयो । आरिफ शेषले मात्र १४ बलमा २९ रनको अविजित पारी खेल्नुभयो ।
लुम्बिनिका लागि सौरभ खनाल, कृष्ण कार्की र अनिल खरेलले सामान एक एक विकेट लिए । खनालले मात्र दुई ओभरमा ३८ रन खर्चिनुभयो । सुनिल धमला प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।