खेलकुद |

एनफिल्डमा लिभरपुलको ६८ खेलको अपराजित यात्रा समाप्त

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । लिभरपुलको प्रिमियर लिगमा घरेलु मैदानमा लगातार ६८ खेलको अपराजित यात्रा समाप्त भएको छ । बर्नलीले प्रिमियर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा लिभरपुललाई हराउँदै लिभरपुलको अपराजित यात्रा समाप्त पारेको हो ।
आश्ले बार्नसले ८३ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा लिभरपुलमाथि बर्नलीले रोमाञ्चक जित हात पार्यो । लिभरपुलका गोलरक्षक लिस्सनले खेल सकिन सात मिनेट मात्रै बाँकी रहँदा बार्नसलाई लडाउन पुग्नुभयो । बर्नलीले सन् १९७४ पछि पहिलो पटक एनफिल्डमा जित हात पारेको हो ।
लिभरपुलले लिगमा पछिल्लो पटक चार वर्ष अघि घरेलु मैदानमा हार बेहोरेको थियो । सन् २०१७ को अप्रिलमा उसले क्रिष्टल पैलेससँग हार बेहोर्न पुगेको थियो ।
बर्नली विरुद्धको हारसँगै लिभरपुल प्रिमियर लिगको अङ्कतालिकामा शीर्ष स्थानको म्यान्चेष्टर यूनाइटेडभन्दा छ अङ्कको अन्तरमा छ । लिभरपुलको ३४ अङ्क छ । दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ३८ तथा लेस्टरको समेत ३८ अङ्क नै छ ।