खेलकुद |

पर्थ स्क्रचर्स विरुद्ध होबर्ट हुरिकेन्स २२ रनले हार्यो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । अष्ट्रेलियामा जारी बिग बैश लिगमा होबर्ट हुरिकेन्सले पर्थ स्क्रचर्स विरुद्ध २२ रनले हार बेहोरेको छ । हारसँगै होबर्ट आठ टोलि सम्मिलित लिगमा चौथो स्थानबाट छैठौं स्थानमा झरेको छ । पर्थ भने दोस्रो स्थानमा उक्लेको छ । पर्थको २८ अङ्क छ । हुरिकेन्सको २३ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको सिड्नी सिक्सरको ३२ अङ्क छ ।
पर्थले प्रस्तुत गरेको १८० रनको औसत लक्ष्य पछ्याउँदै होबर्ट पुरै २० ओभर खेलेपनि आठ विकेटको क्षतिमा मात्र १५७ रन जोडन सक्यो । औसत लक्ष्य पछ्याउने क्रममा हुरिकेन्सले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो । ओपनर डी आर्सी शटले सर्वाधिक ४० रन बनाउनुभयो । मध्यक्रममा पिटर हयाण्ड्सकम्बले ३० तथा टिम देविडले २७ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।
हुरिकेन्सलाई १५७ रनमा रोक्न पर्थका झ्ये रिचर्डसनले सर्वाधिक चार विकेट लिनुभयो । एन्ड्रयु टाइ, लिआम लिभिंगस्टनले एक एक तथा जैसन बेहेरन्डर्फले दुई विकेट लिए ।
त्यसअघि, मेलबर्नमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पर्थले २० ओभरमा आठ विकेटको क्षतिमा १७९ रनको योगफल तयार गर्यो । मध्यक्रमका ब्याट्सम्यान जोश इग्लिसको ५८ रनको पारीमा उसले औसत योगफल तयार गर्न सफल भयो । झ्ये रिचर्डसनले पूछारमा उत्कृष्ट पारी खेल्दै मात्र १४ बलमा २९ रन बनाउनुभयो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले चार ओभरमा मात्र २७ रन खर्चेर दुई विकेट लिनुभयो । नाथन इलिसले चार ओभरमा चार विकेट लिनुभयो । विल ज्याक्स र डी आरसी शटले सामान एक एक विकेट लिए ।
रिचर्डसन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।