प्रदेश २ माथि बागमतीको छ विकेटको जित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । प्रतियोगिता अन्तगर्तको १४ औं खेलमा बागमतीले प्रदेश २ माथि छ विकेटको जित हात पार्यो ।
प्रदेश २ ले प्रस्तुत गरेको १८० रनको लक्ष्य बागमतीले खेल सकिन दश बल बाँकी छँदा चार विकेटको क्षतिमा पुरा गर्यो । बागमतीको जितमा पृथु बाँस्कोटाले सर्वाधिक ५३ रनको योगदान दिनुभयो । उहाँ अविजित रहनुभयो । बिभत्सु थापा हरिशंकर साहको बलमा बोल्ड भई पेभेलियन फर्किनुअघि ९३ बलमा ४७ रन जोड्नुभयो । ओपनर आकाश थापाले ३२ रन बनाउनुभयो ।
प्रदेश २ का लागि हरिशंकर साहले दुई तथा विशाल सुश्लिङ र कुमार थापाले सामान एक एक विकेट लिए । महबुब आलमले आठ ओभरमा मात्र १९ रन खर्चेपनि विकेट लिन सक्नुभएन ।
त्यसअघि, मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको प्रदेश २ ले बागमती समक्ष १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । १२२ रनमा आठ विकेट गुमाएको प्रदेश २ का लागि ९ औं नम्बरका ब्याट्सम्यान बिवेक यादबले पुनः एकपटक उत्कृष्ट पारी खेल्दै टोलिलाई सामान्य योगफलसम्म अग्रसर गराउनुभयो । उहाँले ९ औं विकेटका लागि कुमार थापासँग ३६ रनको साझेदारी गर्नुभयो । बिवेकले ७४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ६६ रनको पारी खेल्नुभयो । बिवेकले लुम्बिनि विरुद्धको खेलमा समेत ५१ रनको उत्कृष्ट पारी खेल्नुभएको थियो । कुमार थापाले ३१ बलमा २२ रन बनाउनुभयो ।
ओपनर सुधीर चौधरी र हरिशंकर साह तथा मध्यक्रममा रबि सिंह, विशाल सुश्लिङ, विकेटकीपर हिमांशु दत्त र कप्तान सूरज कुर्मी लगातार दोस्रो खेलमा समेत निराशाजनक प्रदर्शन गरे ।
बागमतीका लागि गौतम केसीले सर्वाधिक चार तथा रामनरेश गिरीले दुई एवम् नन्दन यादब, तिलक भण्डारी, बिपीन आचार्यले एक एक विकेट लिए ।