खेलकुद |

प्रदेश १ ले कर्णालीलाई ५९ रनले हरायो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । प्रदेश १ ले कर्णालीमाथि ५९ रनको जित हात पारेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतर्को १३ औं खेलमा प्रदेश १ ले कर्णालीलाई हराएको हो ।
प्रदेश १ ले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याउँदै कर्णालीले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्यो । ओपनरद्वय रबन्द्रि शाहीले १८ तथा विपिन रावलले ४७ रनको पारी खेल्नुभयो । दुबै ब्याट्सम्यान पेभेलियन फर्केपछि निश्चल रावलले ३१ रनको पारी खेलेर टोलीको योगफल १६ ओभरमा दुई विकेटको क्षतिमा ८६ रनसम्म पुर्याउनुभयो । निश्चल पेभेलियन फर्किदा एकपछि अर्को गरी कर्णालीको पारी धराशायी हुन पुग्यो । ३५ ओभरको अन्तिम बलमा १५६ रनसम्म पुग्दा ऊ समेटिन पुग्यो ।
प्रदेश १ का लागि मिनाश थापाले सर्वाधिक पाँच तथा दीपेश कँडेलले तीन विकेट लिनुभयो । मनोज तामाङ्गले दुई विकेट लिनुभयो ।
त्यसअघि, टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको प्रदेश १ ले कमजोर सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान चलेपछि उसले औसत योगफल ठड्याउन सफल भयो । उसको पारीमा कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रनको पारी खेल्नुभयो । शुभशंकर उरावले ३६ रन बनाएर टोलीको योगफल २१५ सम्म पुर्याउनुभयो ।
कर्णालीका बलरहरुले ३२ रन अतिरिक्त खर्चे । रवीन्द्र शाहीले सर्वाधिक तीन तथा दिनेश अधिकारी र अनूज चुनाराले दुई दुई तथा दिवान पुन र राज शाहले एक एक विकेट लिए । मिनाश थापा प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।