लुम्बिनिको दोस्रो जित, सेमीफाइनल पुग्ने सम्भाबना जिवितै
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । लुम्बिनिले सुदूरपश्चिम प्रदेशलाई छ विकेटले हराएको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तगर्त शनिबार सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य लुम्बिनिले मात्र १४ ओभर ५ बलमा चार विकेटको क्षतिमा ६४ रन बनाएर पुरा गर्यो ।
जितसँगै समूह बी मा रहेको लुम्बिनि अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लुम्बिनिले तीन खेलमध्ये दुईमा जित हात पारेको छ । नेपाल पुलिसले सामान खेलबाट चार अङ्क बटुलेपनि ऊ नेटरन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ । दुई खेलमध्ये दुबैमा हार बेहोरेको प्रदेश २ अङ्कतालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिम पूछारमा छ ।
झिनो लक्ष्य पछ्याउने क्रममा ३६ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको लुम्बिनिका लागि सौरभ खनालले अविजित रहँदै १८ रनको योगदान दिनुभयो । कप्तान कृष्ण कार्की १५ रन बनाउनुभयो । विकेटकीपर ब्याट्सम्यान केसी प्रकाशले अविजित रहँदै १७ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि शेर मल्लले दुई तथा बिनोद लामाले एक विकेट लिए ।
त्यसअघि, मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सुदूरपश्चिमले २७ ओभर ४ बलमा मात्र ६२ रनमा समेटिन पुग्यो । सुदूरपश्चिमको पारीका नौ जना ब्याट्सम्यान दोहोरा योगफल जोड्न नपाउँदै पेभेलियन फर्किए । कप्तान सन्तोष भट्टले ११ र नारायण जोशीले १७ रनको योगदान दिनुभयो । लुम्बिनीका लागि कृष्ण कार्कीले एकै ओभरमा तीन विकेट लिनुभयो । उहाँले दश ओभरमा तीन मेडन राख्दै १७ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो ।
अनिल खरेल र विक्रम भूषालले सामान दुई दुई तथा दीपेन्द्र रावतले एक विकेट लिनुभयो ।
कृष्ण कार्की प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।