खेलकुद |

म्यान्चेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुन चार साताका लागि मैदानबाट बाहिरिए

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । म्यान्चेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुन घुँडामा चोट लागेर चारदेखि छ साताका लागि मैदानबाट बाहिरिनुहुने भएको छ । सिटीका ब्यवस्थापक पेप गार्डिओलाले घाइते हुनुभएका केभिन ब्रुनको घुँडामा लागेको चोटबाट निको हुन समय लाग्ने बताउनुभएको हो ।
गार्डिओलाले चिकित्सकको सुझाब बमोजिम केभिन छ सातासम्मका लागि बाहिरिन लागेको र उक्त खबर सिटीका लागि ठूलो झटका हुने प्रतिक्रिया दिनुभयो ।
गत् बुधबार सम्पन्न आष्टन भिल्ला विरुद्धको खेलमा सिटीले २–० को जित हात पार्दा २९ वर्षीय बेल्जियमका केभिन ब्रुनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । शनिबार हुने एफ ए कपको चौथो राउन्डको चेल्टेनहम विरुद्धको खेलमा समेत उहाँ अनुपस्थित रहनुहुनेछ ।
आराम गरिरहँदा केभिन डी ब्रुनले कम्तिमा दश खेलमा अनुपस्थित हुनुपर्नेछ ।
सिटी सबै प्रतियोगितामा गरी पछिल्लो १६ खेलमा अपराजित छ । पछिल्लो नौ खेल उसले लगातार जितेको छ । प्रिमियर लिगको तालिकामा ऊ दोस्रो स्थानमा छ । म्यान्चेष्टर यूनाइटेडभन्दा दुई अङ्कले पछाडि रहेपनि उसले यूनाइटेडभन्दा एक खेल कम खेलेको छ ।