खेलकुद |

दोस्रो टेष्टको पहिलो पारीमा श्रीलङ्का ३८१ रनमा समेटियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलको पहिलो पारीमा श्रीलङ्काले ३८१ रनको योगफल तयार गरेको छ । एञ्जेलो म्याथ्युजले शतकीय पारी खेलेपछि श्रीलङ्काले पहिलो पारीमा औसत योगफल तयार गर्न सफल भयो ।
गलमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले ७६ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर लहिरु थिरमन्नेले ४३ रनको पारी खेले पनि अर्का ओपनर कुशल परेरा तथा मध्यक्रममा ओशादा फर्नान्डो सस्तोमै पेभेलियन फर्केपछि घरेलु टोलि दबाबमा परेको थियो । चौथो विकेटका लागि एञ्जेलो म्याथ्युजले कप्तान दिनेश चन्दीमालसँग ११७ रनको साझेदारी गर्नुभयो । चन्दीमाल ५२ रन बनाएर पेभेलियन फर्किदा म्याथ्युजले पाँचौं विकेटका लागि विकेटकीपर निरोशन डिकवेलासँग ३७ रनको साझेदारी गरेर ११० रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किनुभयो । पूछारमा दिलरुवान परेराले ६७ रनको पारी खेलेपछि श्रीलङ्का १३९ ओभर ३ बलमा ३८१ रनको औसत योगफल तयार गर्न सफल भयो ।
इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले सर्वाधिक छ विकेट लिनुभयो । मार्क ऊडले तीन तथा साम कर्रनले एक विकेट लिए ।
दोस्रो दिनको खेलमा ३६ ओभरको खेल बाँकी रहँदा इंग्ल्याण्डले आफ्नो पहिलो पारीको सुरुवात गर्दैछ ।
दुई म्याचको श्रृखंलामा पहिलो टेष्ट खेल जितेर पाहुना टोलि इंग्ल्याण्डले १–० को अग्रता लिएको छ ।