सुदूरपश्चिमबाट हारसँगै प्रदेश २ प्रधानमन्त्री कपबाट बाहिरियो
गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । सुदूरपश्चिमले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । प्रतियोगितामा पहिलो जित हात पार्ने क्रममा उसले प्रदेश २ लाई तीन विकेटले हराएको छ ।
हारसँगै प्रदेश २ एक खेल अगावै प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश २ ले बागमती, लुम्बिनि र सुदूरपश्चिमसँग हार बेहोरेको छ । उसले लिग चरणको अन्तिम खेलमा नेपाल पुलिसको सामना गर्नेछ ।
प्रदेश २ ले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले खेल सकिन १७ ओभर बाँकी रहँदा मात्र सात विकेटको क्षतिमा १९६ रन बनाएर पूरा गर्यो । ओपनरद्वय गजेन्द्र बोहोरा र कप्तान खक बोहराले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । गजेन्द्र बोहोराले मात्र ४७ बलमा ३९ रन तथा खडक बोहोराले ७३ बलमा ४३ रनको पारी खेल्नुभयो । सञ्जु दमाईले विस्फाेटक पारी खेल्दै ३५ बलमा आठ चौका र दुई छक्का लगाउँदै सर्वाधिक ५७ रनको पारी खेल्नुभयो । दमाई पेभेलियन फर्किदा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा १७० रन जोडेको थियो । अरुण ऐरीले १९ रनको योगदान दिएर सुदूरपश्चिमको योगफल १९२ रनसम्म पुर्याउनुभयो ।
प्रदेश २ ले ऐरीसहित सुदूरपश्चिमको लगालग चार विकेट लिएर दबाब सृजना गरे पनि जितका लागि धेरै ढिलाइ गरिसकेको थियो । हेमन्त धामीले हरिशंकर साहको बलमा एक रन लिँदै सुदूरपश्चिमको जित सुनिश्चित गर्नुभयो ।
प्रदेश २ का लागि कुमार थापाले सर्वाधिक तीन तथा हरिशंकर साहले दुई विकेट लिए । विवेक यादव र रवि साहले सामान एक एक विकेट लिए ।
त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको प्रदेश २ ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा सुदूरपश्चिम विरुद्ध ५० ओभर खेल्न सकेन । सुदूरपश्चिम विरुद्ध प्रदेश २ मात्र ४२ ओभरमा १९५ रनको सामान्य योगफलमा समेटिन पुग्यो ।
प्रतियोगिताको तीन वटै खेलमा कमजोर प्रदर्शन गर्नुभएका ओपनर सुधीर चौधरी लगातार तेस्रो खेलमा समेत एक रनमा पेभेलियन फर्किनुभयो । अर्का ओपनर हरिशंकर साहले ६० रनको उत्कृष्ट पारी खेल्नुभयो । रबि शाह डक आउन हुन पुग्नुभयो । कप्तान सूरज कुर्मी पनि लगातार कमजोर प्रदर्शन गर्नुभएको छ । तेस्रो खेलमा उहाँले मात्र सात रन बनाउनुभयो । विशाल सुश्लिङगले समेत सात रन बनाएर पेभेलियन फर्किनुभयो । यसअघिको दुई खेलमा पूछारमा आएर लगातार दुई अद्र्धशतक लगाउनुभएका विवेक यादवले तेस्रो खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्ने अबसर पाउनुभयो । मात्र ५२ बलमा दुई चौका र तीन छक्कासहित विवेकले ४१ रनको पारी खेलेर टोलीको योगफल सात विकेटको क्षतिमा १६८ रनसम्म पुर्याउनुभयो । महबुब आलमले २६ बलमा दुई चौका र दुई छक्कासहित २३ रनको पारी खेल्नुभयो ।
सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले सामान तीन तीन विकेट लिए । अरुण ऐरीले दुई तथा हेमन्त धामी र भोजराज भट्टले एक एक विकेट लिए । सुदूरपश्चिमका सञ्जु दमाई प्लेयर अफ द् म्याच घोषित हुनुभयो।