दक्षिण अफ्रिका २२० रनमा समेटियो, पाकिस्तानको कमजोर सुरुवात
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १३ गते । पाकिस्तान विरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा दक्षिण अफ्रिका २२० रनको सामान्य योगफलमा समेटिएको छ । जवाबमा पाकिस्तानले समेत कमजोर सुरुवात गरेको छ । दिनको खेल जारी रहँदा पाकिस्तानले दुई विकेटको क्षतिमा १६ रन बनाएको छ ।
पाकिस्तानका दुबै जना ओपनर ब्याट्सम्यान इमरान बट्ट र आबिद अलि पेभेलियन फर्किएका छन् । अजहर अलि र बाबर आजम क्रिजमा ब्याटिङ गर्दैछन् । अफ्रिकाका लागि कगिसो रबाडाले दुबै विकेट लिनुभयो ।
यसअघि कराँचीमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले ६९ ओभर दुई बल खेल्दै आफ्नो पहिलो पारीमा २२० रन बनाएको छ । अफ्रिकाका लागि डीन एल्गरले सर्वाधिक ५८ रनको योगदान दिनुभयो । फाफ डु प्लेसिसले २३ तथा जर्ज लिन्डेले ३५ रन बनाउन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । पाकिस्तानका लागि यासिर शाहले सर्वाधिक तीन तथा शाहीन शाह अफ्रिदी र नौमन अलिले सामान दुई दुई एवम् हसन अलिले एक विकेट लिए ।