खेलकुद |

बागमती समक्ष त्रिभुवन आर्मीको २३० रनको लक्ष्य

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । त्रिभुवन आर्मी क्लबले बागमती प्रदेश समक्ष २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा आर्मीले बागमती समक्ष २३० रनको औसत लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको आर्मीले ८० रनमै पाँच विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर हरि चौहानले ३ तथा अनिलकुमार मण्डलले दुई रन बनाएर पेभेलियन फर्केपछि सुरुवाती दबाबमा आएको आर्मीले २६ औं ओभरसम्म उक्त दबाबबाट बाहिर आउन सकेनन । मध्यक्रममा राजेश पुलामी मगर र बिक्रम सोबले सातौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै आर्मीलाई सामान्य योगफलमा समेटिनबाट जोगाउँदै सेमीफाइनलको स्पर्धालाई मजबूत बनाए । पुलामीले ९१ बलमा चार चौका र दुई छक्कासहित ६५ रनको उत्कृष्ट पारी खेल्नुभयो । बिक्रम सोबले ३५ रनको महत्वपूर्ण पारी खेल्नुभयो । त्यसअघि, भिम सार्कीले ६१ बलमा ४० रनको पारी खेलेर आर्मीको पारी उकास्न सहयोग गर्नुभयो । सुशन भारीले १६ रनको योगदान दिएर अन्तिम बलमा रन आउट हुँदा आर्मीले ५० ओभरमा २२९ रनको औसत योगफल तयार गर्न सफल भयो ।
बागमतीका लागि गौतम केसीले सुरुवाती तीन विकेट लिएर आर्मीमाथि दबाब बनाउन सफल हुनुभयो । उहाँले दश ओभरमा ६१ रन खर्चेर पाँच विकेट लिनुभयो । नन्दन यादबले दश ओभरमा मात्र ३७ रन खर्चेर एक विकेट लिनुभयो । राम नरेश गिरी, तिलक भण्डारी र बिपीन आचार्यले समेत एक एक विकेट लिनुभयो ।