खेलकुद |

‘१२ मिनेटमा हयाट्रिक गोल’

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । क्यामरुनी खेलाडीले छ गोल गरेपछि वालिङ नगरपालिकाले चौदण्डीगढीमाथि १०–० को विशाल अन्तरको जित हात पारेको छ । वालिङको जितमा क्यामरुनकी एलुडि रुथले छ गोल गर्नुभयो ।
राष्ट्रिय महिला लिगमा वालिङको यो पहिलो जित हो । आज सम्पन्न खेलमा क्यामरुनकी रुथले १२ मिनेटभित्रै आफ्नो हयाट्रिक गोल गर्नुभयो । दोस्रो हाफमा समेत उहाँले हयाट्रिक गोल गर्दै खेलमा छ गोल पुरा गर्नुभयो । वालिङको जितमा सम्झना शर्माले दुई तथा मनमाया दमाई र क्यामरुनकै अर्का खेलाडी टौटा आर्नेला इभानिक नोइलेले एक एक गोल गर्नुभयो ।
रुथले खेल सुरु भएको सातौं मिनेटमै पहिलो गोल गर्नुभयो । ९ औं र १९ औं मिनेटमा उहाँले थप दुई गोल गर्दै हयाट्रिक पुरा गर्नुभयो । मनमायाले ३३ औं मिनेटमा पहिलो गोल गर्दै वालिङको अग्रता पहिलो हाफमै ४–० पुर्याउनुभयो । नोइलेले ४९ औं मिनेटमा वालिङका लागि पाँचौं गोल गर्दा रुथले ६३ औं र ७१ औं मिनेटमा थप दुई गोल गरेर अग्रतालाई ७–० बनाउनुभयो । सम्झना शर्माले ८० औं र ८२ औं मिनेटमा थप दुई गोल गर्दै वालिङको अग्रता ९–० पुर्याउनुभयो । दोस्रो हाफको अतिरिक्त समयमा रुथले आफ्नो छैठौं तथा वालिङका लागि दशौं गोल गर्दै चौदण्डीगढीमाथि १०–० को जित सुनिश्चित गर्नुभयो ।