खेलकुद |

पाँच खेलपछि लिभरपुलको पहिलो जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १६ गते । प्रिमियर लिगको साबिक विजेता लिभरपुलले टट्नहममाथि जित हात पारेको छ । लिभरपुलले टट्नहममाथि ३–१ को जित हात पारेको हो ।
लगातार पाँच खेलसम्म जित्न नसकेको लिभरपुलले पछिल्लो चार खेलमा त गोल समेत गर्न सकेन । टट्नहममाथि जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्ष चारमा उक्लिन सफल भयो ।
ब्राजिली स्ट्राइकर रोबर्टो फिरमिन्होले एरिक डायर र ह्युगो लोरिसबीच तालमेल नभएको स्थितिको फाइदा उठाउँदै पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै लिभरपुलले १–० को अग्रता दिलाउन सफल भयो । उहाँले साडियो मानेको क्रसलाई गोलमा परिणत गर्नुभयो । ४७ औं मिनेटमा ट्रेन्ट अलेक्जेण्डर आर्नोल्डले गोल गर्दै लिभरपुलको अग्रतालाई दोब्बर पार्नुभयो ।
पिएरी एमाइल हजबर्गले २० गजबाहिरबाट गर्नुभएको प्रहार गोलमा परिणत हुँदा टट्नहमले वापसी गरेपनि लिभरपुलले थप गोल गर्ने कुनै अबसर दिएन । ६४ औं मिनेटमा साडियो मानेले बल चोर्दै स्परको पोष्ट छिराएपछि लिभरपुलले ३–१ को जित सुनिश्चित गर्यो ।
टट्नहममाथि जितसँगै लिभरपुलले २० खेलबाट ३७ अङ्क बटुल्दै चौथो स्थानमा उक्लेको छ । उसको शीर्षस्थानको म्यान्चेष्टर सिटीभन्दा चार अङ्क कम छ ।