विराटनगरद्वारा चौदण्डीगढी पराजित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । विराटनगर महानगरपालिकाले चौदण्डीगढीमाथि ६–० को जित हात पारेको छ । जितसँगै विराटनगर अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
राष्ट्रिय महिला लिग अन्तगर्त शनिबार सम्पन्न पहिलो खेलमा विराटनगरले चौदण्डीगढीमाथि जित हात पारेको हो । विराटनगरको जितमा अनु राईले दुई तथा इमा राई, मनीषा थापा मगर, कुसुम खतिवडा र पार्बती घलेले एक एक गोल गर्नुभयो । अनुले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्दै विराटनगरलाई खेलमा १–० को अग्रता दिलाउनुभयो । उहाँले ३६ औं मिनेटमा आफ्नो र विराटनगरका लागि समेत दोस्रो गोल गर्नुभयो । इमाले ३९ औं र मनिषाले ४३ औं मिनेटमा गोल गरी विराटनगरको अग्रता ४–० बनाउनुभयो ।
८२ औं र ८३ औं मिनेटमा कुसुम र पार्बतीले थप एक एक गोल गरेपछि विराटनगरले चौदण्डीगढीमाथि ६–० को जित सुनिश्चित गर्नुभयो । चौदण्डीगढीले प्रतियोगितामा आफ्नो पहिलो जितको खोजीमा छ । चार खेलबाट उसले एक अङ्क मात्रै जोड्न सकेको छ ।