खेलकुद |

रियल मड्रिड लेभान्टेसँग पराजित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । स्पेनिस ला लिगामा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । लेभान्टेले रियल मड्रिडलाई २–१ ले हराएको हो ।
खेल सुरु भएको ९ औं मिनेटमा नै डिफेन्डर एडर मिलिओ रातो कार्ड पाएर बाहिरिएपछि रियल मड्रिड दश खेलाडीमा सीमित हुन पुग्यो । तर १३ औं मिनेटमा मार्को एसेन्सियोको गोलबाट रियल मड्रिडले लेभान्टेविरुद्ध १–० को अग्रता लिन सफल भयो ।
जोस लुई मोरेल्सले लेभान्टेका लागि बराबरी गोल गर्दै खेल १–१ मा ल्याउनुभयो । रोजर मार्टिले खेल सकिन मात्र १२ मिनेट बाँकी रहँदा लेभान्टेका लागि गोल गर्दै रियलमाथि २–१ को जित सुनिश्चित गर्नुभयो । उहाँले यसअघि पाउनुभएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्न असफल हुनुभएको थियो ।
ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडले भने रियलभन्दा दुई खेल कम खेलेपनि अङ्कतालिकामा रियलभन्दा सात अङ्कको स्पष्ट अग्रता कायम गरेको छ । एटलेटिकोको ४७ अङ्क छ । २० खेलबाट ३९ अङ्क बटुलेको सेभिल्लाको ३९ अङ्क छ । बार्सिलोनाले भने १९ खेलबाट ३७ अङ्क बटुल्दै चौथो स्थानमा छ ।