खेलकुद |

वेष्टहममाथि जितसँगै लिभरपुल तेस्रो स्थानमा उक्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । मोहम्मद सलहले दुई गोल गरेपछि लिभरपुलले वेष्टहम यूनाइटेडमाथि जित हात पारेको छ । जितसँगै लिभरपुल प्रिमियर लिग अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । मोहम्मद सलहले प्रिमियर लिगमासात खेलमा पहिलो पटक गोल गर्नुभएको हो ।
जर्गन क्लपको लिभरपुलले पहिलो हाफमा प्रभाबकारी प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफको प्रारम्भमै इजिप्टका स्ट्राइकर सलहले गोल गर्दै १–० को अग्रता दिनुभयो । लिभरपुलले अग्रता कायम गरेको ११ मिनेट नबित्दै सलहले पुनः गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो ।
साडिओ माने घाइते रहेको र रोबर्टो फिर्मिन्हो बिस्थापित भएको बेला आफूमाथि आएको जिम्मेवारीलाई सलहले पूर्ण सफलताका साथ निर्वाह गर्नुभयो । खेलको उत्तराद्र्धमा फिर्मिन्हो बेञ्चबाट मैदानमा प्रबेश गरे लगत्तै जर्जनियो विज्नाल्डमले गर्नुभएको गोलमा सहयोग गर्नुभयो ।
८७ औं मिनेटमा क्रैग डौसनले गर्नुभएको प्रहार गोलमा परिणत भएपनि उक्त गोल शान्त्वनामा सीमित रहन गयो । र लिभरपुलले ३–१ को जित सुनिश्चित गर्यो ।
जितसँगै प्रिमियर लिगको अङ्कतालिकामा लिभरपुल तेस्रो स्थानमा उक्लेको छ । २१ खेलबाट ४० अङ्क बटुलेको उसले शीर्ष स्थानको म्यान्चेष्टर सिटीबाट चार अङ्कले पछाडि छ । सिटीले दोस्रो स्थानको म्यान यूनाइटेड र लिभरपुलभन्दा एक खेल कम खेलेको छ । सिटीको ४४ र यूनाइटेडको ४१ अङ्क छ ।