ब्राइटनबाट टट्नहम स्तब्ध
गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । प्रिमियर लिग अङ्क तालिकाको अन्तिम चारमा रहेको ब्राइटनले छैठौं स्थानको टट्नहममाथि जित हात पारेको छ । जितसँगै ब्राइटन पूछारमा रहेको तीन टोलिभन्दा स्पष्ट सात अङ्कको अग्रता लिएको छ ।
ब्राइटनको टट्नहम विरुद्धको प्रदर्शन बिगत् दुई वर्षकै सबैभन्दा उत्कृष्ट प्रदर्शनको रुपमा ब्याख्या गरिएको छ । ब्राइटनका लागि लिआन्ड्रो ट्रोस्सार्डले १७ औं मिनेटमा गर्नुभएको गोल नै टट्नहममाथि जितका लागि निर्णायक रहन गयो । ट्रोस्सार्डले पास्कल ग्रोसको ‘कटब्याक’लाई गोलमा परिणत गर्नुभयो । आयोजक ब्राइटनले गत् जुन महिना यता पहिलोपटक घरेलु मैदानमा जित हात पारेको हो ।
प्रशिक्षक जोस मौरिन्होको टट्नहम भने शीर्ष चारभन्दा छ अङ्कले पछाडि धकेलिन पुगेको छ । टट्नहमले २० खेलबाट ३३ अङ्क बटुलेको छ । चौथो स्थानको लेष्टरले २१ खेलबाट ३९ अङ्क बनाएको छ । ४४ अङ्कसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ ।