खेलकुद |

शर्मिलाको हयाट्रिकमा आर्मीको विराटनगरमाथि जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला लिगको दोस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानमा उक्लिन उसले विराटनगर महानगरपालिकालाई हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न राष्ट्रिय महिला लिगको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगरमाथि ७–० को जित हात पारेको छ । आर्मीको जितमा शर्मिला थापाले हयाट्रिक गोल गर्नुभयो । विमला चौधरीले दुई तथा रश्मि घिसिङ र बिमला विकले आर्मीका लागि एक एक गोल गर्नुभयो ।
विमला चौधरीले पहिलो हाफको ३६ औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाउनुभयो । ४५ औं मिनेटमा शर्मिला थापाले गोल अन्तरलाई दोब्बर पार्नुभयो । पहिलो हाफको इन्ज्युरी समयमा थापाले थप एक गोल गर्दै आर्मीको अग्रतालाई ३–० बनाउनुभयो । उहाँले ६१ औं मिनेटमा थप एक गोल गर्दै आफ्नो हयाट्रिक गोल पूरा गर्नुभयो ।
६७ औं मिनेटमा रश्मि घिसिङले र ७१ औं मिनेटमा विमला विकले गोल गर्दा आर्मीको अग्रता ६–० पुगेको थियो । विमला चौधरीले खेल सकिन पाँच मिनेट मात्रै बाँकी रहँदा थप एक गोल गर्दै आर्मीको विराटनगरमाथि ७–० को जित सुनिश्चित गर्नुभयो ।
हारसँगै विराटनगर अङ्क तालिकाको चौथो स्थानमा झरेको छ ।