खेलकुद |

स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी सञ्चालनमा

गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १९ गते । नेपालकी नम्बर एक महिला टेनिस खेलाडी नविता श्रेष्ठले सोमबार स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याउनुभएको छ । काठमाडौंको खुसिबँुस्थित पलेस्वाँ मार्गमा टेबल टेनिस ‘टेटे’ एकेडेमी सञ्चालनमा आएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सो टेटे एकेडेमीको उद्घाटन गर्नभयो । एकेडेमीमा हाल छ वटा टेबल टेनिस बोर्ड रहेको छ । तीन सत्रमा प्रशिक्षणको समय मिलाइएको सो एकेडेमीमा राकेश महर्जन प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । यसैगरी, आठ पटककी नेपाल च्याम्पिययन नविता र एलिना महर्जनले पनि प्रशिक्षण दिनुहुनेछ ।नविताले धेरै अघिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग तथा साथले आप्mनो सपना साकार भएको बताउनुभयो । ‘१३ औं दक्षिण एसियाली खेलकुदपछि प्रशिक्षकको क्यारियरलाई अघि बढाउने सोच बनाएकी थिएँ, त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेका हौँ’ उहाँले भन्नुभयो । नविताले विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको विकासले आफूलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा प्रदान गरेको भनाइ पनि राख्नुभयो ।
एकेडेमी स्थापनामा टेबल टेनिसको अन्तर्राष्ट्रिय कम्पनी स्टागको पनि सहयोग रहेको छ । नविता यसलाई प्लस प्वाइन्ट मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘स्टागको २०९ राष्ट्रमा आवद्धता भएकोले यस एकेडेमीका खेलाडीलाई ती देशमा ट्रेनिङ एक्सचेन्ज कार्यक्रममा लैजान सकिनेछ । एकेडेमीको प्रमुख उद्देश्य अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर नेपाली टेबल टेनिसको विकास नै हो । म यस एकेडेमीबाट नविता श्रेष्ठ र श्यान्ट श्रेष्ठभन्दा पनि अब्वल खेलाडी उत्पादन होस् भन्ने चाहन्छु ।
यसैगरी, उहाँले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तिका लागि पहल गर्ने साथै छात्राबास समेत सञ्चालन गर्ने सोच बनाएको बताउनुभयो । उहाँले अहिले तीन सत्रमा यस एकेडमीमा प्रशिक्षण हुने जानकारी दिनुभएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एकेडेमीको सफलताको कामना गर्दै खेलाडीहरुले आप्mनो खेलाडी जीवनपछि यस्तै सिर्जनात्मक काम गरेर खेल क्षेत्रमा योगदान दिनुपर्छ, भन्नुभयो । नविताले अन्य जीवन यापनको मार्ग नखोजी आफ्नै खेल क्षेत्रमा लगानी गरी यस क्षेत्रको बिकासमा लाग्ने जुन कदम उठाएको छिन् त्यसका लागि नवितालगायत परिवारलाई धन्यवाद दिनैपर्छ– अध्यक्ष श्रेष्ठले भन्नभयो ।
यसैगरी, नेपाल टेबल टेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले कुनै पनि खेलको विकास गर्न यस्तो एकेडेमी धेरैभन्दा धेरै खुल्नुपर्ने धारणा राख्नभयो । अहिले नेपालमा पनि टेटे एकेडेमी खुल्ने क्रम सुरु भएको भन्दै स्टाग च्याम्पियन्स एकेडेमी तीमध्ये पनि नम्बर एक हुने विश्वास व्यक्त गर्नुभयो ।