अष्ट्रेलियाको दक्षिण अफ्रिका भ्रमण स्थगित
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । अष्ट्रेलियाले यसै महिनाका लागि तय भएको दक्षिण अफ्रिका भ्रमण नगर्ने भएको छ । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा तीन टेष्ट म्याच खेल्ने तालिका तय गरिएको थियो ।
क्रिकेट अष्ट्रेलियाले पछिल्ला दिनहरुमा दक्षिण अफ्रिकामा बढ्दो सङ्क्रमणले भ्रमण स्थगित गर्न बाध्य भएको जनाएको छ । क्रिकेट अष्ट्रेलियाका कार्यवाहक कार्यकारी प्रमुख निक हक्लीले कोभिड–१९ को नयाँ संस्करणको दैनिक वृद्धिले दक्षिण अफ्रिका भ्रमण स्थगित गर्नुपरेको बताउनुभयो । उहाँले आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको होडमा उभिन र दक्षिण अफ्रिका क्रिकेटसँगको सम्बन्धलाई निरन्तरता दिन समेत भ्रमण महत्वपूर्ण रहेपनि खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर भ्रमण गर्न नहुने कठीन निर्णयमा पुगेको प्रष्ट्याउनुभयो ।
दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट अष्ट्रेलियाले १९ सदस्यीय टोलिको घोषणा गरेपनि खेल तालिका सुनिश्चित भइसकेको थिएन ।
गत् डिसेम्बर महिनामा इंग्ल्याण्डले दक्षिण अफ्रिकाको भ्रमण गर्दा दुई खेलको अन्तरालमै खेलाडीहरु सङ्क्रमित हुन थालेपछि इंग्ल्याण्ड श्रृखंला छोडेर फर्किनुपरेको थियो । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका कोरोनाभाइरसले सबैभन्दा बढी प्रभाबितमध्येका राष्ट्र हुन । दक्षिण अफ्रिकामा हालसम्म करिब १४ लाख सङ्क्रमित भएका छन् । ४४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।