खेलकुद |

क्रिकेट अष्ट्रेलियाको प्रस्ताव दक्षिण अफ्रिकाद्वारा अस्वीकार

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । क्रिकेट अष्ट्रेलियाले आगामी महिना दक्षिण अफ्रिकामा हुने निर्धारित टेष्ट श्रृखंला अष्ट्रेलियामा गर्न राखेको प्रस्ताव दक्षिण अफ्रिकी क्रिकेट बोर्डले अस्वीकार गरेको छ । क्रिकेट अष्ट्रेलियाले मंगलबार मात्रै फेब्रुअरी अन्तिमदेखि दक्षिण अफ्रिकामा सुरु हुने तय भएको टेष्ट श्रृखंला स्थगित गर्ने निर्णय गरेको थियो ।
दक्षिण अफ्रिका र अष्ट्रेलियाली क्रिकेट बोर्डबीच टेष्ट श्रृखंला अष्ट्रेलियामा सार्ने छलफल भएको थियो । अष्ट्रेलियाले दक्षिण अफ्रिकी टोलिले विगतमा सबैभन्दा सफल नतिजा ल्याएको पर्थमै श्रृखंला खेल्न प्रस्ताव गरेको क्रिकेट अष्ट्रेलियाका अन्तरिम कार्यकारी प्रमुख निक हक्लीले बताउनुभयो । तर श्रृखंला अष्ट्रेलियामा सार्दा दक्षिण अफ्रिकी क्रिकेटले गरेको अन्य प्रतिबद्धतासँगै खर्चको आधारमा उपयुक्त नहुने तर्क गरेको छ ।
क्रिकेट अष्ट्रेलियाले श्रृखंला तटस्थ भूमिमा गर्नसमेत विकल्प दिएकोमा दक्षिण अफ्रिकी बोर्डले उक्त प्रस्तावसमेत अस्वीकार गरेको छ । क्रिकेट अष्ट्रेलियाले कोभिड १९ को नयाँ संस्करणका बिरामीको वृद्धिसँगै दक्षिण अफ्रिका भ्रमण स्थगित गर्ने निर्णय गरेको थियो । अष्ट्रेलिया भ्रमण स्थगित गर्ने निर्णयमा पुग्दा आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने उसको रणनीतिमा समेत धक्का लागेको छ ।