न्युजिल्याण्ड विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्यो
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । न्युजिल्याण्ड क्रिकेट टोली विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुनिश्चित गरेको छ । यसैवर्षको जुन महिनामा लर्ड्स क्रिकेट ग्राउन्डमा विश्व टेष्ट च्याम्पियनसिपको फाइनल हुँदैछ । फाइनल खेल जुन १८ देखि २२ सम्म हुनेछ ।
दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको टेष्ट श्रृंखला स्थगित भएपछि विश्व टेष्ट च्याम्पियनसिपमा पुग्ने न्युजिल्याण्ड पहिलो टोली बन्न पुगेको छ । न्युजिल्याण्ड हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) विश्व टेष्ट च्याम्पियनसिप तालिकाको दोस्रो स्थानमा छ । तर अङ्क प्रतिशतको आधारमा ऊ फाइनलको लागि स्थान सुनिश्चित गरेको हो । फाइनलमा न्युजिल्याण्डले भारत, इंग्ल्याण्ड वा अष्ट्रेलिया मध्ये कुनै एक टोलीको सामना गर्नेछ ।
इंग्ल्याण्ड र भारतबीचको चार म्याचको टेष्ट श्रृखंलाले टेष्ट च्याम्पियनसिप पुग्ने अर्को टोलीको सुनिश्चित गर्नेछ । फाइनलमा स्थान सुनिश्चित गर्न भारतले इंग्ल्याण्ड विरुद्धको श्रृंखलामा २–१, २–०, ३–१, ३–० वा ४–० ले जित्नुपर्छ । इंग्ल्याण्डले भने फाइनलमा न्युजिल्याण्डसँगको भेट सुनिश्चित गर्न भारतलाई ३–१, ३–० वा ४–० ले हराउनुपर्नेछ । अष्ट्रेलियाले अझै फाइनलको लागि स्थान सुनिश्चित गर्न सक्छ । भारत र इंग्ल्याण्डबीचको श्रृखंला बराबरीमा सम्पन्न भए वा भारतले १–० ले जिते वा इंग्ल्याण्डले १–०, २–१ वा २–० ले जिते अष्ट्रेलियाले जुनमा न्युजिल्याण्डसँग विश्व टेष्ट च्याम्पियनसिपको भेट सुनिश्चित गर्नेछ ।