खेलकुद |

बङ्गलादेशद्वारा वेष्टइन्डिज समक्ष ३९५ रनको लक्ष्य प्रस्तुत

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २४ गते । बङ्गलादेशले वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टमा ३९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा वेष्टइन्डिजले कमजोर सुरुवात गरेको छ । उसले चौथो दिनको खेल जारी रहँदा एक विकेटको क्षतिमा ४८ रन जोडेको छ । ओपनर ब्याट्सम्यान समेत रहनुभएका क्रैग बर्थवैटले २० तथा शेन मोस्लीले पाँच रन बनाएर अविजित हुनुहुन्छ । बङ्गलादेशलाई मेहेदी हसन मिराजले पहिलो सफलता दिलाउनुभएको हो । जोन क्याम्पवेललाई मिराजले एलबीडब्ल्यु आउट गराउनुभयो ।
त्यसअघि, चित्तगाउँमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको बङ्गलादेशले पहिलो पारीमा ४३० रनको औसत योगफल तयार गरेको थियो । मेहेदी हसन मिराजले शतकीय पारी खेलेपछि बङ्गलादेश बलियो स्थितिमा पुगेको हो ।
२४८ रनमा छ विकेट गुमाएको बङ्गलादेशका लागि शकीब अल हसनले मेहदी हसनसँग सातौं विकेटका लागि ६७ रनको साझेदारी गर्नुभयो । शकीब अल हसन ६८ रन बनाएर पेभेलियन फर्किदा मेहदी हसनले १०३ रनको उत्कृष्ट पारी खेल्नुभयो । ओपनर शदनम इस्लामले ५९ रनको पारी खेलेर बङ्गलादेशको पारीलाई स्थिरता दिने प्रयास गर्नुभयो । मध्यक्रममा मुश्फीक्र रहिमले ३८ तथा लिटन दासले ३८ रनको योगदान दिनुभयो ।
वेष्टइन्डिजका लागि जोमेल वरिकनले सर्वाधिक चार विकेट लिनुभयो । रखीम कोर्नवालले दुई तथा केमार रोच, शैनन गेब्रेल र क्रुमाह बोनरले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा वेष्टइन्डिजको पहिलो पारी २५९ रनमा समेटियो । जर्माइन ब्ल्याकउडको ६८ तथा कप्तान क्रैग ब्रैथवेटको ७६ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सक्नुभएन । वेष्टइन्डिजमाथि पहिलो पारीमा १७१ रनको अग्रता दिलाउन बङ्गलादेशका लागि मेहेदी हसन मिराजले सर्वाधिक चार विकेट लिनुभयो । मुस्तफीजुर रहमान, तैजुल इस्लाम र नइम हसनले सामान दुई दुई विकेट लिनुभयो ।
पहिलो पारीमा १७१ रनको अग्रता लिएको बङ्गलादेशले दोस्रो पारी आठ विकेटको क्षतिमा २२३ रनमा घोषणा गर्दै वेष्टइन्डिज समक्ष ३९५ रनको लक्ष्य प्रस्तुत गरेको हो । बङ्गलादेशका लागि कप्तान मोमिनुल हकले दोस्रो पारीमा शतक लगाएपछि ऊ औसत योगफल तयार गर्न सफल भयो । विकेटकीपर लिटोन दासले ६९ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।
वेष्टइन्डिजका लागि रखिम कर्नवाल र जोमेल वारिकनले सामान तीन तीन तथा शैनोन गेब्रैलले दुई विकेट लिनुभयो ।