खेलकुद |

आर्मीको चौदण्डीगढीमाथि ९–० को जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २४ गते । त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग अन्तर्गतकाे दोस्रो चरणको पहिलो खेलमा चौदण्डीगढीमाथि जित हात पारेको छ । आर्मीले चौदण्डीगढीमाथि ९–० को जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न एक मात्र खेलमा रश्मि घिसिङले चार गोल गर्नुभयो । शर्मिला थापाले दुई र भुजङ्गा राई र अञ्जली वाइबाले सामान एक एक गोल गर्नुभयो । अलिमित लेप्चाले आफ्नै पोष्टमा गोल गरेपछि आर्मीले ९–० को जित हात पार्न सफल भयो ।
जितसँगै आर्मीले शीर्षस्थानको सशस्त्र प्रहरी बल(एपीएफ) भन्दा अङ्कतालिकामा अङ्क दूरी कम गरेको छ । एपीएफले आर्मीको भन्दा एक खेल कम खेल्दा दुई अङ्कको अग्रता कायम गरेको छ । चौदण्डीगढी भने सात खेलमध्ये एउटैमा जित्न नसक्दा अङ्कतालिकाको पुछारमा सीमित हुन गएको छ ।