खेलकुद |

दोस्रो टेष्टमा जितसँगै पाकिस्तानले श्रृखंला पायो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्ट खेल ९५ रनले जितेको छ । दोस्रो टेष्टमा जितसँगै घरेलु मैदानमा पाकिस्तानले दुई टेष्टको श्रृखंला २–० ले जितेको छ ।
पाकिस्तानले प्रस्तुत गरेको ३७० रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकी टोलि उत्कृष्ट सुरुवातका बावजूद २७० रनमा धराशायी हुन पुग्यो । १२७ रनमा मात्र दुई विकेट गुमाएको दक्षिण अफ्रिकी पारीमा ओपनर ऐडन मक्रमले सर्वाधिक १०८ तथा टेम्बा बभुनाले ६१ र रस्सी भान डेर दुस्सैनले ४८ रनको योगदान दिनुभयो । डीन एल्गरको १७ तथा वियान मल्डरको २० रन अतिरिक्त अन्य छ जना ब्याट्सम्यान दोहोर योगफल समेत छुन सकेनन ।
पाकिस्तानको बलिङ्गमा हसन अलिले सर्वाधिक पाँच तथा शाहीन शाह अफ्रिदीले चार र यासीर शाहले एक विकेट लिनुभयो ।
त्यसअघि, रावलपिण्डीमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाकिस्तानले कप्तान बाबर आजमको ७७ तथा फहिम अशरफको ७८ रनको योगदानले पहिलो पारीमा २७२ रनको योगफल तयार गर्न सफल भयो ।
अफ्रिकी बलिङ्गमा एनरिक नोर्जेले सर्वाधिक पाँच, केशव महाराजले तीन र वियान मल्डरले एक विकेट लिनुभयो ।
जवाबमा दक्षिण अफ्रिकाले पहिलो पारीमा मात्र २०१ रनमा सीमित हुन पुग्यो । अफ्रिकी पारीमा टेम्बा बभुनाले बनाउनुभएको ४४ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो ।
पाकिस्तानका लागि हसन अलिले सर्वाधिक पाँच तथा शाहीन शाह अफ्रिदी, फहिम अशरफ र नौमन अलिले सामान एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा ७१ रनको अग्रता लिएको पाकिस्तानले दोस्रो पारीमा २९८ रनको योगफल तयार गर्दा दक्षिण अफ्रिकाले ३७० रनको लक्ष्य पाएको थियो । पाकिस्तानका लागि विकेटकीपर ब्याट्सम्यान मोहम्मद रिजवानले शतकीय पारी खेल्नुभयो ।
हसन अलि प्लेयर अफ द् म्याच तथा मोहम्मद रिजवान प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।