पहिलो टेष्ट इंग्ल्याण्डको पकडमा, भारतलाई जितका लागि ३८१ रन आवश्यक
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । इंग्ल्याण्डले पहिलो टेष्ट खेलमा भारत समक्ष ४२० रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफमा भारतले कमजोर सुरुवात गरेको हो । उसले दिनको खेल सकिँदासम्म एक विकेटको क्षतिमा ३९ रन जोडेको छ । चेतेश्वर पूजाराले १२ तथा शुभमन गिलले १५ रनको ब्यक्तिगत् योगफलबाट पाँचौं तथा अन्तिम दिनको खेल सुरुवात गर्नुहुनेछ । रोहित शर्मा १२ रन बनाएर पेभेलियन फर्किदा भारत दबाबमा आएको हो । इंग्ल्याण्डका लागि ज्याक लिचले रोहित शर्माको रुपमा पहिलो सफलता दिलाउनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ५७८ रनको योगफल तयार गरेको थियो । कप्तान जोइ रुटको दोहोरा शतकमा इंग्ल्याण्डले विशाल योगफल तयार गर्न सफल भयो ।
भारतका लागि जसप्रित बुमराह र रबिचन्द्रन आश्विनले सामान तीन तीन तथा इशान्त शर्मा र शहबाज नदीमले सामान दुई दुई विकेट लिनुभयो ।
जवाबमा शीर्ष क्रमका ब्याट्सम्यानहरु असफल भएपछि भारत आफ्नो पहिलो पारीमा मात्र ३३७ रनको योगफलमा समेटिन पुग्यो । मध्यक्रममा चेतेश्वर पूजाराले ७३ तथा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ९१ र वाशिंंगटन सुन्दरले ८५ रनको पारी खेलेपछि ऊ पाहुना टोलिलाई विशाल रनको अग्रता बनाउनबाट बञ्चित गर्यो ।
भारतलाई ३३७ रनमा समेट्न इंग्ल्याण्डका लागि डम बेस्सले सर्वाधिक चार तथा जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले सामान दुई दुई विकेट लिनुभयो
पहिलो पारीमा २४१ रनको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो पारीमा मात्र १७८ रनमा समेटिए पनि भारत समक्ष ४२० रनको विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । इंग्ल्याण्डका लागि जोइ रुटले बनाउनुभएको ४० रन नै दोस्रो पारीको सबैभन्दा ठूलो ब्यक्तिगत् योगफल रहन गयो । भारतका लागि रबिचन्द्रन आश्विन एक्लैले सर्वाधिक छ विकेट लिनुभयो । शहवाज नदीमले दुई तथा इशान्त शर्मा र जसप्रित बुमराहले सामान एक एक विकेट लिनुभयो ।