खेलकुद |

हार नजिक पुग्यो भारत

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । इंग्ल्याण्ड विरुद्धको पहिलो टेष्टमा भारत हार नजिक पुगेको छ । ४२० रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिनको खेल एक विकेटको क्षतिमा ३९ रनबाट अगाडि बढाएको भारतले थप ८७ रन जोड्दा पाँच विकेट गुमाउन पुगेको छ । उसले छ विकेटको क्षतिमा १२६ रन जोडेको छ । चार विकेट मात्रै बाँकी रहँदा जितका लागि उसलाई अझै २९४ रन आवश्यक छ भने उसले कम्तीमा ६६ ओभर खेल्न बाँकी छ । शुभमन गिलले सर्वाधिक पचास रनको योगदान दिदा अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन । कप्तान विराट कोहली ४० रन बनाएर अविजित हुनुहुन्छ ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ५७८ रनको योगफल तयार गरेको थियो । कप्तान जोइ रुटको दोहोरा शतकमा इंग्ल्याण्डले विशाल योगफल तयार गर्न सफल भयो ।
भारतका लागि जसप्रित बुमराह र रबिचन्द्रन आश्विनले सामान तीन तीन तथा इशान्त शर्मा र शहबाज नदीमले सामान दुई दुई विकेट लिनुभयो ।
जवाफमा शीर्ष क्रमका ब्याट्सम्यानहरु असफल भएपछि भारत आफ्नो पहिलो पारीमा मात्र ३३७ रनको योगफलमा समेटिन पुग्यो । मध्यक्रममा चेतेश्वर पूजाराले ७३ तथा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ९१ र वाशिंंगटन सुन्दरले ८५ रनको पारी खेलेपछि ऊ पाहुना टोलीलाई विशाल रनको अग्रता बनाउनबाट वञ्चित गर्यो ।
भारतलाई ३३७ रनमा समेट्न इंग्ल्याण्डका लागि डम बेस्सले सर्वाधिक चार तथा जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले सामान दुई दुई विकेट लिनुभयो ।
पहिलो पारीमा २४१ रनको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो पारीमा मात्र १७८ रनमा समेटिए पनि भारत समक्ष ४२० रनको विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । इंग्ल्याण्डका लागि जोइ रुटले बनाउनुभएको ४० रन नै दोस्रो पारीको सबैभन्दा ठूलो ब्यक्तिगत् योगफल रहन गयो । भारतका लागि रबिचन्द्रन आश्विन एक्लैले सर्वाधिक छ विकेट लिनुभयो । शहवाज नदीमले दुई तथा इशान्त शर्मा र जसप्रित बुमराहले सामान एक एक विकेट लिनुभयो ।