सौरेजले दुई गोल गरेपनि एटलेटिको बराबरीमा रोकियो
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । लुईस सौरेजले दुई गोल गरेपनि लिग नेतृत्वकत्र्ता एटलेटिको मड्रिड सेल्टा विगोसँग बराबरीमा रोकिएको छ । सेल्टासँग बराबरी खेलेर अङ्क बाँडेको एटलेटिको ५१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । दोस्रो स्थानको बार्सिलोनाभन्दा एक खेल कम खेलेपनि उसले आठ अङ्कको अग्रता कायम गरेको छ ।
स्पेनिस ला लिगा अन्तगर्त गए राति सम्पन्न खेलमा सेल्टा विगोले १३ औं मिनेटमा नै गोल गरेर एटलेटिको मड्रिडमाथि १–० को अग्रता कायम गर्यो । मिना लोरेञ्जोले हेडमार्फत् गोल गरेर पाहुना टोलि सेल्टालाई अग्रता दिलाउनुभयो ।
ऊरुग्वेका फरवार्ड लुईस सौरेजले हाफ टाइम सकिन ठीक अघि गोल गर्दै एटलेटिको मड्रिडका लागि बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफ सुरु भएको केही समय नबित्दै सौरेजले एटलेटिकोलाई २–१ को अग्रता दिलाउनुभयो । उहाँले रेनान लोडीको क्रसलाई गोलमा परिणत गर्नुभयो ।
सौरेजको गोलपछि एटलेटिकोले जारी सिजनको १७ औं जित हात पार्ने अपेक्षा गरिएपनि फकुन्डो फेरेराले ८९ औं मिनेटमा फर्काउनुभएको गोल एटलेटिकोलाई २–२ को बराबरीमा रोक्न पर्याप्त भयो ।