पहिलो टेष्टमा इंग्ल्याण्डको भारतमाथि २२७ रनको जित
काठमाडौं, माघ २७ गते । इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेष्ट खेल २२७ रनले जितेको छ । पाहुना टोली इंग्ल्याण्डले प्रस्तुत गरेको ४२० रनको लक्ष्य पछ्याउँदै भारतले दिनको खेल सकिन ३५ ओभर बाँकी छँदै मात्र १९२ रनमा समेटिएपछि उसले फराकिलो अन्तरको हार बेहोर्न बाध्य भएको हो । जितसँगै इंग्ल्याण्डले चार म्याचको टेष्ट श्रृखंलामा १–० को अग्रता लिएको छ ।
एक विकेटको क्षतिमा ३९ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल सुरु गरेको भारतले थप १५३ रन जोडन बाँकीको नौ विकेट गुमायो । उसको पारीमा कप्तान विराट कोहलीले ७२ तथा ओपनर शुभमन गिलले ५० रनको योगदान दिनु अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले प्रभावकारी प्रदर्शन गर्न सकेनन् । उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल जोड्न सकेनन ।
इंग्ल्याण्डका लागि ज्याक लिचले सर्वाधिक चार विकेट लिनुभयो । जेम्स एन्डरसनले तीन र जोफ्रा आर्चर, डम बेस्स र बेन्न स्टोक्सले एक एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा ५७८ रनको विशाल योगफल तयार गरेको थियो । कप्तान जोइ रुटको दोहोरा शतकमा इंग्ल्याण्डले ठूलो योगफल तयार गर्न सफल भयो ।
भारतका लागि जसप्रित बुमराह र रबिचन्द्रन आश्विनले सामान तीन तीन तथा इशान्त शर्मा र शहबाज नदीमले सामान दुई दुई विकेट लिनुभयो ।
जवाबमा शीर्ष क्रमका ब्याट्सम्यानहरु असफल भएपछि भारत आफ्नो पहिलो पारीमा मात्र ३३७ रनको योगफलमा समेटिन पुग्यो । मध्यक्रममा चेतेश्वर पूजाराले ७३ तथा विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ९१ र वाशिंंगटन सुन्दरले ८५ रनको पारी खेलेपछि ऊ पाहुना टोलीलाई विशाल रनको अग्रता बनाउनबाट वञ्चित गर्यो ।
भारतलाई ३३७ रनमा समेट्न इंग्ल्याण्डका लागि डम बेस्सले सर्वाधिक चार तथा जेम्स एन्डरसन, जोफ्रा आर्चर र ज्याक लिचले सामान दुई दुई विकेट लिनुभयो ।
पहिलो पारीमा २४१ रनको अग्रता लिएको इंग्ल्याण्डले दोस्रो पारीमा मात्र १७८ रनमा समेटिए पनि भारतसमक्ष ४२० रनको विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । इंग्ल्याण्डका लागि जोइ रुटले बनाउनुभएको ४० रन नै दोस्रो पारीको सबैभन्दा ठूलो ब्यक्तिगत् योगफल रहन गयो । भारतका लागि रबिचन्द्रन आश्विन एक्लैले सर्वाधिक छ विकेट लिनुभयो । शहवाज नदीमले दुई तथा इशान्त शर्मा र जसप्रित बुमराहले सामान एक एक विकेट लिनुभयो ।