इंग्ल्याण्डको जितसँगै बदलिँदै विश्व टेष्ट च्याम्पियनशीपको समीकरण
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २७ गते । भारत विरुद्धको पहिलो टेष्टमा विशाल अन्तरको जितसँगै इंग्ल्याण्ड विश्व टेष्ट च्याम्पियनशीपको शीर्ष स्थानमा उक्लेको छ । भारतमाथि जितसँगै उसले शीर्ष स्थानको न्युजिल्याण्डलाई दोस्रो स्थानमा धकेलेको हो ।
जित प्रतिशतको आधारमा ऊ तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । उसले छ टेष्ट श्रृखंलाबाट ११ मा जित र चारमा हार तथा तीनवटा बराबरीमा सम्पन्न गरेर ७०.२ प्रतिशत नतिजा आफ्नो पक्षमा निकालेको हो । दोस्रो स्थानको न्युजिल्याण्डले भने पाँच श्रृखंलाबाट सातमा जित र चारमा हार बेहोरेर ७० प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको हो ।
यसअघि अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा हराएर शीर्ष स्थानमा पुगेको भारत चौथो स्थानमा झरेको छ । अष्ट्रेलिया तेस्रो स्थानमा झरेको हो । उसले चार श्रृखंलाबाट आठमा जित र चारमा हार तथा दुई बराबरी खेलेर ६९.२ प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको हो । भारतले भने छ टेष्ट श्रृखंलाबाट नौ खेलमा जित र चारमा हार तथा एक खेल बराबरीमा सम्पन्न गरेर ६८.३ प्रतिशत खेल जितेको छ ।
भारतमाथि जितसँगै आईसीसी विश्व टेष्ट च्याम्पियनशीपका लागि हुने स्पर्धामा इंग्ल्याण्डले आफ्नो दाबेदारी मजबूत बनाएको छ । यद्दपी उसको यात्रा अझै कठीन छ । इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डसँगको भेट सुनिश्चित गर्न भारतमाथि चार म्याचको श्रृखंलामा ३–१, ३–० वा ४–० ले जित्नुपर्ने हुन्छ ।
हारसँगै भारतले भने फाइनल पुग्ने सम्भाबनाको विकल्पका तीन ढोका बन्द गरेको छ । इंग्ल्याण्ड विरुद्धको श्रृखंलामा ऊ ४–०, ३–० वा २–० ले जितेर फाइनलमा न्युजिल्याण्डसँगको भेटको सम्भाबना बन्द गरेको छ । भारत कहाँ अब दुईवटा विकल्प मात्रै छ । इंग्ल्याण्डलाई ३–१ वा २–१ ले हराए ऊ फाइनलमा न्युजिल्याण्डसँगको भेट पक्का गर्नेछ ।
यी दुई राष्ट्रबीचको टेष्ट श्रृखंलामाथि अष्ट्रेलिया फाइनल पुग्ने सम्भाबना पनि टिकेको छ । भारत र इंग्ल्याण्डबीचको श्रृखंला २–२, १–१, ०–१, १–२ वा ०–२ मा टुंगिए टेष्ट च्याम्पियनशीपको फाइनलमा न्युजिल्याण्डसँगको भेट अष्ट्रेलियाले तय गर्नेछ ।