खेलकुद |

रियल मड्रिड दोस्रो स्थानमा उक्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २८ गते । रियल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । गेटाफेमाथि जितसँगै रियल मड्रिडले शीर्ष स्थानको एटलेटिकोसँगको अङ्क दूरी समेत कम गरेको छ ।
साबिक विजेता रियलले २२ खेलबाट ४६ अङ्क बटुलेको छ । शीर्ष स्थानको एटलेटिकोले २० खेलबाट ५१ अङ्क आर्जन गरेको हो । तेस्रो स्थानको बार्सिलोनाको २१ खेलमा ४३ अङ्क छ ।
रियल मड्रिडले गेटाफेमाथि २–० को जित हात पार्यो । गेटाफेमाथि जित दिलाउन करिम बेञ्जिमाले ६० औं मिनेटमा पहिलो गोल गरेर रियललाई १–० को अग्रता दिलाउनुभयो । फरलेन्ड मेन्डीले ६६ औं मिनेटमा गोल थप्दा रियलले गेटाफेमाथि २–० को जित सुनिश्चित गर्यो ।
इडेन हजार्ड, सर्जिओ रामोस, फेड्रिको भाल्भ्रेड, टोनी क्रूज र अल्भारो ओड्रिओजोलाको अनुपस्थितिमा जिनेदिन जिदानको रियलले ३–४–३ को रणनीति लिएर मैदानमा उत्रिएको थियो ।