खेलकुद |

वालिङ्को चौदण्डीगढीमाथि ७–१ को जित

गोरखापत्र अनलाइन
काठमाडौं, माघ २९ गते । वालिङ् नगरपालिकाले चौदण्डीगढीमाथि ७–१ को जित हात पारेको छ । राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार सम्पन्न पहिलो खेलमा वालिङ्ले चौदण्डीगढीमाथि जित हात पारेको हो ।
वालिङ्को जितमा सबै गोल अफ्रिकी खेलाडी एलुडी रुथ र ओर्नेल इभानिकले गर्नुभयो । मेथो एलुडी रुथले वालिङ्गका लागि पाँच गोल गर्नुभयो । ओर्नेल इभानिकले दुई गोल गर्नुभयो । अञ्जना थुलुङ्गले चौदण्डीगढीका लागि एक गोल फर्काए पनि उक्त गोल सान्त्वना मात्रै रहन गयो ।
मेथोले पहिलो हाफको २५ औं मिनेटमा गोल गरेर वालिङ्का लागि सुरुवाती गोल गर्नुभयो । थुलुङ्गले ३२ औं मिनेटमा गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो । चौदण्डीगढीले बराबरी दुई मिनेट समेत जोगाउन सकेनन । मेथोले गोल थप्दै वालिङ्लाई २–१ को अग्रता दिलाउनुभयो । मेथोले ४४ औं मिनेटमा गोल गर्दै आफ्नो हयाट्रिक गोल पूरा गर्नुभयो ।
दोस्रो हाफको तेस्रो मिनेटमा मेथोले आफ्नो चौथो गोल पूरा गर्नुभयो । ५५ औं मिनेटमा उहाँले पाँचौं गोल पुरा गर्नुभयो । ओर्नेलले ७१ औं मिनेटमा गोल गर्दै वालिङ्लाई ६–१ को स्थितिमा पुर्याउनुभयो । ७२ औं मिनेटमा उहाँले थप एक गोल गर्दै वालिङ्को चौदण्डीगढीमाथि ७–१ को जित सुनिश्चित गर्नुभयो ।
चौदण्डीगढीमाथि जितसँगै वालिङ् तेस्रो स्थानमा उक्लेको छ । प्रतियोगितामा आफ्नो दोस्रो गोल मात्रै पूरा गरेको चौदण्डीगढीले भने अङ्कतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।