बङ्गलादेशले न्युजिल्याण्ड र इंग्ल्याण्डलाई समेत आयोजना गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, माघ २९ गते । अष्ट्रेलिया क्रिकेट टोलिले यसै वर्ष बङ्गलादेशको भ्रमण गर्ने सार्वजनिक भएको दुई दिन नबित्दै बङ्गलादेश क्रिकेटले न्युजिल्याण्ड र इंग्ल्याण्डलाई समेत आयोजना गर्न लागेको प्रष्ट्याएको छ । यद्दपी दुबै बोर्डले तालिका सुनिश्चित गरेपछि मात्रै भ्रमणको घोषणा गरिने बङ्गलादेश क्रिकेट बोर्डले जनाएको छ ।
बङ्गलादेश क्रिकेट बोर्डका कार्यकारी प्रमुख निजामुद्दीन चौधरीले न्युजिल्याण्ड र इंग्ल्याण्डलाई समेत आयोजना गर्न लागेको बताउनुभयो । उहाँले आगामी अक्टोबर महिनामा अष्ट्रेलियाले बङ्गलादेशको भ्रमण गर्दा दुई टी ट्वान्टी र दुई टेष्ट म्याच खेल्ने तय भएकोमा टेष्ट म्याचको लागि पर्याप्त समय नहुने अवस्थामा टी ट्वान्टी म्याच नै थप्न सकिने खुलाउनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वार्षिक तालिका बमोजिम इंग्ल्याण्डले तीन अन्तर्राष्ट्रिय एकदिवसीय र तीन टी ट्वान्टी खेल्नेछ । उक्त श्रृखंला समेत अक्टोबर महिनाकै लागि तय गरिएको छ । त्यसअघि बङ्गलादेशले गत् वर्ष दुई पटक स्थगित हुन पुगेको तीन म्याचको टेष्ट श्रृखंला खेल्न श्रीलङ्का प्रस्थान गर्ने तयारीमा रहेको छ । उक्त श्रृखंला अप्रिल महिनाभित्र भइसक्नुपर्ने हो ।