खेलकुद |

लगातार ९ औं जितसँगै एपीएफ लिगको उपाधि नजिक

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १ गते । सशस्त्र प्रहरी बल(एपीएफ) राष्ट्रिय महिला लिगको उपाधि नजिक पुगेको छ । लिगको दोस्रो चरण अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा वालिङ्ग नगरपालिकालाई हराउँदै ऊ उपाधि नजिक पुगेको हो ।
एपीएफले बाँकीको दुई खेल जिते निर्विकल्प उपाधि हात पार्नेछ । दोस्रो स्थानको त्रिभुवन आर्मीभन्दा एपीएफ पाँच अङ्कको अग्रता कायम गरेको छ । एपीएफको २७ अङ्क छ । त्रिभुवन आर्मीले सामान नौ खेलबाट २२ अङ्क जोडेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार सम्पन्न खेलमा एपीएफले वालिङ्गलाई ६–० को फराकिलो अन्तरले हरायो । एपीएफको जितमा सबित्रा भण्डारी एक्लैले पाँच गोल गर्नुभयो । प्रीति राईले एक गोल गर्नुभयो । सातौं मिनेटमा पहिलो गोल गर्दै सबित्राले खेलमा एपीएफलाई १–० को अग्रता दिलाउनुभयो । १६ औं मिनेटमा दोस्रो गोल गर्नुभएको उहाँले चार मिनेटपछि गोल थप्दै आफ्नो हयाट्रिक पूरा गर्नुभयो । प्रीति राईले पहिलो हाफको अतिरिक्त समयमा गोल थप्दै एपीएफको गोल अन्तरलाई ४–० बनाउनुभयो ।
वालिङ्गले पहिलो हाफमा गोल गर्ने केही अबसर सृजना गरे पनि सफलता पाउन सकेनन । दोस्रो हाफमा अपेक्षाकृत सुधारिएको प्रदर्शन गरेको वालिङ्गले एपीएफकी सबित्राले थप दुई गोल गर्न भने रोक्न सकेनन् । सबित्राले ६४ औं मिनेटमा आफ्नो चौथो तथा एपीएफका लागि पाँचौं गोल गर्नुभयो । दोस्रो हाफको अतिरिक्त समयमा सबित्राले गोल थप्दा एपीएफको वालिङ्गमाथि ६–० को जित सुनिश्चित गर्न पर्याप्त भयो ।
वालिङ्ग लिगको तेस्रो स्थानमा छ । नेपाल पुलिसभन्दा एक खेल बढी खेलेको वालिङ्गले हेड टु हेड प्रदर्शनको आधारमा १४ अङ्कसहित तेस्रो स्थानमा छ । नेपाल पुलिस भने सामान अङ्क ल्याएर चौथो स्थानमा छ ।