पहिलो पारीमा बङ्गलादेश ११३ रनले पछाडि पर्यो
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १ गते । वेष्टइन्डिज विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा बङ्गलादेश ११३ रनले पछाडि परेको छ । वेष्टइन्डिजले पहिलो पारीमा तयार गरेको ४०९ रनको जवाबमा बङ्गलादेश २९६ रनमा समेटिन पुगेको छ । जवाबमा वेष्टइन्डिजले दोस्रो पारीमा कमजोर सुरुवात गरेको छ । उसले तेस्रो दिनको खेल जारी रहँदा तीन विकेटको क्षतिमा ४१ रन जोडेको छ । उसले १५४ रनको अग्रता लिएको छ ।
११ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको बङ्गलादेशका लागि मध्यक्रममा मुश्फीक्र रहिम, लिटोन दास र मेहेदी हसन मिराजको अद्र्धशतकको सहयोगमा २९६ रनको योगफलसम्म पुग्यो । १५५ रनमा छ विकेट गुमाएको बङ्गलादेशका लागि लिटोन दासले मेहेदी हसनसँग सातौं विकेटका लागि १२६ रनको साझेदारी गर्नुभयो ।
वेष्टइन्डिजका लागि रखीम कोर्नवालले सर्वाधिक पाँच तथा शानमोन गेब्रियलले तीन र अल्जारी जोसेफले दुई विकेट लिनुभयो ।
त्यसअघि, मीरपुरमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको वेष्टइन्डिजले पहिलो पारीमा ४०९ रनको औसत योगफल तयार गर्यो । वेष्टइन्डिजका लागि क्रूमा बोन्नरले ९०, जोशुआ डी सिल्भाले ९२ र अल्जारी जोसेफले ८२ रनको योगदान दिनुभयो ।
बङ्गलादेशका लागि अबु जाएदले तैजुल इस्लामले सामान चार चार तथा मेहेदी हसन मिराज र सौम्य सरकारले एक एक विकेट लिनुभयो ।