खेलकुद |

चौदण्डीगढीको लगातार दशौं हार, विराटनगरको जित

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन १ गते । विराटनगर महानगरपालिकाले चौदण्डीगढीमाथि जित हात पारेको छ । राष्ट्रिय महिला लिग अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा विराटनगरले चौदण्डीगढीमाथि २–१ को जित हात पारेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा विराटनगरका लागि दुबै गोल पार्वती घलेले गर्नुभयो । मनिता तामाङ्गले सातौं मिनेटमा नै गोल गरेर चौदण्डीगढीलाई १–० को महत्वपूर्ण अग्रता दिलाउनुभयो । तर चौदण्डीगढीले उक्त अग्रता दश मिनेट समेत जोगाउन सकेनन । विराटनगरका लागि पार्वती घलेले १५ औं मिनेटमा बराबरी गोल गरेर खेल १–१ को स्थितिमा ल्याउनुभयो । हाफटाइम सकिन तीन मिनेट बाँकी छँदा पार्बतीले ब्यक्तिगत् तथा टोलिका लागि दोस्रो गोल गर्दै खेलमा २–१ को अग्रता दिलाउनुभयो । उक्त गोल नै विराटनगरलाई उदयपुरको चौदण्डीगढीमाथि जित दिलाउन पर्याप्त भयो ।
चौदण्डीगढीमाथि जित हात पारे पनि विराटनगर पाँचौं स्थानमा यथावत रहयो । यद्यपि उसले चौथो स्थानको नेपाल पुलिससँग अङ्क दूरी कम गरेको छ । विराटनगरभन्दा एक खेल कम खेलेको पुलिसको १४ अङ्क छ भने उसको १३ अङ्क छ ।
दश खेलबाट एउटैमा जित हात पार्न नसकेको चौदण्डीगढी भने अङ्क तालिकाको पुछारमा छ।