खेलकुद |

इंग्ल्याण्डले फ्लो अन टार्यो, भारतलाई १९५ रनको अग्रता

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । भारतविरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा इंग्ल्याण्ड १३४ रनमा समेटिएको छ । पहिलो पारीमा ३२९ रनको योगफल जोडेको भारतले १९५ रनको अग्रता पाएको छ ।
दोस्रो दिनको खेलमा करिब २४ ओभर बाँकी रहँदा इंग्ल्याण्डले ५९ ओभर ५ बल खेलेर १३४ रनमा समेटियो । इंग्ल्याण्डको पारीमा विकेटकीपर ब्याट्सम्यान बेन फोक्सले सर्वाधिक ४२ रनको योगदान दिनुभयो । बेन्न स्टोक्सले १८ तथा डोम सिब्लीले १६ र ओली पोपले २२ रन बनाएर पेभेलियन फर्किनुभयो ।
इंग्ल्याण्डलाई सस्तोमै समेटन भारतका लागि रबिचन्द्रन आश्विनले सर्वाधिक पाँच विकेट लिनुभयो । अक्षर पटेल र इशान्त शर्माले सामान दुई दुई र मोहम्मद सिराजले एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतले आफ्नो पहिलो पारीमा ३२९ रनको औसत योगफल तयार गरेको थियो । घरेलु टोलिले ८६ रनमै तीन प्रमुख ब्याट्सम्यान गुमाएपछि दबाबमा आएको थियो । तर ओपनर रोहित शर्माले तेज शतक लगाएपछि उसको पारी उकासिएको थियो । शुभमन गिल डक आउन हुन पुग्दा भारतले खाता समेत खोल्न सकेको थिएन । चेतेश्वर पूजारा २२ र कप्तान विराट कोहली समेत डक आउट हुन पुग्नुभयो । रोहितले चौथो विकेटका लागि अजिन्क्यै रहानेसँग १६६ रनको साझेदारी गर्नुभयो । रोहित शर्मा २३१ बलमा १८ चौका र दुई छक्काको सहयोगमा १६१ रनको पारी खेलेर ज्याक लिचको बलमा मोइन अलिलाई क्याच थमाउनुभयो । रहाने ६७ रन बनाएर मोइन अलिको बलमा बोल्ड हुन पुग्नुभयो । भारतको पारीका चार जना ब्याट्सम्यान डक आउट भए ।
इंग्ल्याण्डका लागि मोइन अलिले सर्वाधिक चार तथा ओली स्टोनले तीन र ज्याक लिच दुई र जोइ रुटले एक विकेट लिनुभयो । चार म्याचको टेष्ट श्रृखंलामा इंग्ल्याण्ड १–० ले अगाडि छ ।