खेलकुद |

दोस्रो टी ट्वान्टीमा दक्षिण अफ्रिकाको जित

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । दक्षिण अफ्रिकाले पाकिस्तान विरुद्धको दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय जितेको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा आएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य उसले खेल सकिन २२ बल बाँकी छँदै मात्र चार विकेटको क्षतिमा पुरा गरेको हो । दक्षिण अफ्रिकाको जितमा रीजा हेन्ड्रिक्स र पिट भान बिजोनले सामान ४२ रनको योगदान दिनुभयो । देविड मिलर २५ र हेन्रिक्स क्लास्सेन १७ रन बनाएर अविजित रहनुभयो ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले दुई र मोहम्मद नवाज तथा उसमान कादिरले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, लाहौरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाकिस्तानले पुरा २० ओभर खेले पनि सात विकेटको क्षतिमा मात्र १४४ रन जोडन सक्यो । उसको पारीमा मोहम्मद रिजवानले सर्वाधिक ५१ रनको योगदान दिँदा फहीम अशरफले २० रन बनाएर अविजित रहनुभयो ।
दक्षिण अफ्रिकाका लागि ड्वायन प्रिटोरियसले कसिलो बलिंग गर्दै चार ओभरमा मात्र १७ रन खर्चेर पाँच विकेट लिनुभयो । एन्डाइल फेलक्वायो र तबरैज शम्सीले एक एक विकेट बाँड्नुभयो ।