दोस्रो चरणको बन्द प्रशिक्षण सुरु
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन २ गते । नेपाल क्रिकेट संघ(क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको छ । पहिलो चरणको बन्द प्रशिक्षण शुक्रबार सम्पन्न भएको थियो ।
क्यानले पहिलो चरणको प्रशिक्षणमा सहभागी केही खेलाडीसहित दोस्रो चरणका लागि २० जना खेलाडीलाई बोलाएको छ । पवन सर्राफ, बिवेक यादब, सौरभ खनाल, हरिशंकर साह, सुनिल धमला र रोहित पौडेल लगायतका खेलाडी दोस्रो चरणको प्रशिक्षणमा अटाउन सकेनन । अनिलकुमार मण्डल, जितेन्द्र मुखिया लगायतका खेलाडी भने पहिलो चरणमा समेत अटाउन सकेका थिएनन् ।
डेभ व्हाटमरको प्रशिक्षणमा अनुभवी खेलाडीसहितको २० जनालाई बन्द प्रशिक्षणमा बोलाइएको छ । ज्ञानेन्द्र मल्ल, पारस खडका, दिपेन्द्रसिंह ऐरी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र शरद् भेषावकर दोस्रो चरणमा बोलाइएका छन् ।
त्यसैगरी, कुशल मल्ल, अविनाश बोहरा, कमलसिंह ऐरी, आसिफ शेष, सुशन भारी, कुशल भुर्तेल, ललित राजवंशी, बिक्रम सोब, सन्दीप जोरा, पृथु बाँस्कोटा, सहाब आलम र बसन्त रेग्मी बन्द प्रशिक्षणका लागि बोलाइएका हुन् ।
आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ लगायतका अन्तर्राष्ट्रिय स्पर्धाको तयारी स्वरुप क्यानले दोस्रो चरणको बन्द प्रशिक्षण सुरु गरेको हो ।