खेलकुद |

मेदभेदेभ अष्ट्रेलियन ओपनको क्वार्टरफाइनल पुगे

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ३ गते । चौथो वरियताका डेनिल मेदभेदेभ अष्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा पुग्नुभएको छ । अमेरिकी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै उहाँ क्वार्टरफाइनलमा स्थान सुनिश्चित गर्नुभएको हो ।
मार्गरेट कोर्ट एरेनामा रुसी मेदभेदेभले १९२ औं वरियताका म्याकडोनाल्डलाई हराउन एक घण्टा २९ मिनेट कोर्टमा बिताउनुपर्यो । उहाँले ६–४ ६–२ र ६–३ को जित हात पार्नुभयो ।
लगातार १८ औं खेल जितेका मेदभेदेभले भन्नुभयो, “पाइला पाइला हिंडेर सधैं जित्न प्रयासरत रहँदै आएकोमा यो जित उक्त पाइलाकै कडी हो ।” मेदभेदेभले मेलबर्न पार्कमा सातौं वरीयताका एन्ड्रयु रुब्लेभको सामना गर्नुहुनेछ । सातौं वरियताका रुब्लेभले नर्वेली विपक्ष कास्पर रड्डलाई हराएर क्वार्टरफाइनलको यात्रा तय गर्नुभएको छ । रुसका आस्लान कारात्सेभ समेत क्वार्टरफाइनलको यात्रा तय गर्नुभएको छ ।
यससँगै कुनै पनि ग्राण्ड स्लामको उपाधिको होडमा क्वार्टरफाइनलमा तीन जना रुसी खेलाडी पुगेको यो पहिलो अवसर हो । सन् २००५ मा मराट सफिनले अष्ट्रेलियन ओपन जिते यता कुनै पनि रुसी पुरुष खेलाडीले हालसम्म ग्राण्ड स्लामको उपाधि जित्न सकेको छैन ।