दोस्रो टेष्टमा इंग्ल्याण्डमाथि भारतको ३१७ रनको जित
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ४ गते । भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्ट खेल ३१७ रनले जितेको छ । जितसँगै चार म्याचको टेष्ट श्रृखंला १–१ को बराबरीमा आएको छ ।
भारतले प्रस्तुत गरेको ४८२ रनको लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले ५४.२ ओभरमा मात्र १६४ रनमा समेटिएपछि उसले दोस्रो टेष्टमा हार बेहोरेको हो । इंग्ल्याण्डका लागि मोइन अलिले बनाउनुभएको ४३ रन सर्वाधिक ब्यक्तिगत योगफल रहन गयो । कप्तान जोइ रुट ३३ रन बनाएर पेभेलियन फर्किनुभयो । इंग्ल्याण्डको पारीका छ जना ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन् ।
भारतका लागि अक्षर पटेलले सर्वाधिक पाँच, रबिचन्द्रन आश्विनले तीन तथा कुलदीप यादवले दुई विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको भारतले आफ्नो पहिलो पारीमा ३२९ रनको औसत योगफल तयार गरेको थियो । घरेलु टोलीले ८६ रनमै तीन प्रमुख ब्याट्सम्यान गुमाएपछि दबाबमा आएको थियो । तर ओपनर रोहित शर्माले तेज शतक लगाएपछि उसको पारी उकासिएको थियो । शुभमन गिल डक आउन हुन पुग्दा भारतले खाता समेत खोल्न सकेको थिएन । चेतेश्वर पूजारा २२ र कप्तान विराट कोहली समेत डक आउट हुन पुग्नुभयो । रोहितले चौथो विकेटका लागि अजिन्क्यै रहानेसँग १६६ रनको साझेदारी गर्नुभयो । रोहित शर्मा २३१ बलमा १८ चौका र दुई छक्काको सहयोगमा १६१ रनको पारी खेलेर ज्याक लिचको बलमा मोइन अलिलाई क्याच थमाउनुभयो । रहाने ६७ रन बनाएर मोइन अलिको बलमा बोल्ड हुन पुग्नुभयो । भारतको पारीका चार जना ब्याट्सम्यान डक आउट भए ।
इंग्ल्याण्डका लागि मोइन अलिले सर्वाधिक चार तथा ओली स्टोनले तीन र ज्याक लिच दुई र जोइ रुटले एक विकेट लिनुभयो ।
दोस्रो दिनको खेलमा करिब २४ ओभर बाँकी रहँदा इंग्ल्याण्डले ५९ ओभर ५ बल खेलेर पहिलो पारीमा १३४ रनमा समेटियो । इंग्ल्याण्डको पारीमा विकेटकिपर ब्याट्सम्यान बेन फोक्सले सर्वाधिक ४२ रनको योगदान दिनुभयो । बेन्न स्टोक्सले १८ तथा डोम सिब्लीले १६ र ओली पोपले २२ रन बनाएर पेभेलियन फर्किनुभयो ।
इंग्ल्याण्डलाई सस्तोमै समेटन भारतका लागि रबिचन्द्रन आश्विनले सर्वाधिक पाँच विकेट लिनुभयो । अक्षर पटेल र इशान्त शर्माले सामान दुई दुई र मोहम्मद सिराजले एक विकेट लिनुभयो ।
पहिलो पारीमा भारतले १९५ रनको अग्रता लिएको थियो । दोस्रो पारीमा उसले २८६ रन जोडेपछि इंग्ल्याण्डले ४८२ रनको लक्ष्य पाएको थियो । भारतका लागि बलिङ्ग अलराउन्डर रबिचन्द्रन अश्विनले ओली स्टोनको बलमा बोल्ड हुनुअघि १०६ रनको उत्कृष्ट पारी खेल्नुभयो । कप्तान विराट कोहलीले ६२ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटका लागि ९६ रनको साझेदारी गर्नुभयो ।
इंग्ल्याण्डका लागि ज्याक लिच र मोइन अलि दुबै जनाले सामान चार चार विकेट लिँदा ओली स्टोनले एक विकेट लिनुभयो । चेतेश्वर पूजारा सात रन बनाएर रन आउट हुन पुग्नुभयो ।
दोस्रो पारीमा शतक लगाउनुका साथै पहिलो र दोस्रो पारीमा गरी आठ विकेट लिनुभएका रबिचन्द्रन आश्विन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।