खेलकुद |

टेष्ट च्याम्पियनशीप तालिकामा भारत दोस्रो स्थानमा उक्लियो

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ४ गते । इंग्ल्याण्ड विरुद्धको दोस्रो टेष्ट खेलमा जितसँगै भारत आईसीसी विश्व टेष्ट च्याम्पियनशीपको दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा न्युजिल्याण्ड यथावत छ ।
भारतले दोस्रो टेष्ट खेलमा इंग्ल्याण्डमाथि ३१७ रनको फराकिलो अन्तरको जित हात पारेको हो । उसले अङ्कतालिकामा शीर्ष स्थानको न्युजिल्याण्डभन्दा पनि बढी अङ्क बटुलेको छ । तर उसले न्युजिल्याण्डभन्दा बढी श्रृखंला खेलेको छ । न्युजिल्याण्डको जित प्रतिशत बढी छ । न्युजिल्याण्डले ७० प्रतिशत खेलमा जित हात पारेको छ ।
भारतले भने ६९.७ प्रतिशत खेल जितेको छ । अष्ट्रेलियाले ६९.२ प्रतिशत जितेको हो । इंग्ल्याण्ड भने दोस्रो स्थानबाट चौथो स्थानमा झरेको हो । इंग्ल्याण्डले ६७ प्रतिशत खेल जितेको छ ।
भारतले च्याम्पियनशीपको फाइनलमा न्युजिल्याण्डसँगको स्पर्धा सुनिश्चित गर्न अब दुई विकल्प मात्रै बाँकी छ । उसले इंग्ल्याण्ड विरुद्धको बाँकीको दुबै खेल जित्नुपर्ने वा एउटै अझै खेल जितेर बाँकीको अर्को बराबरीमा सम्पन्न गरे न्युजिल्याण्ड विरुद्धको स्पर्धा तय गर्नेछ ।
इंग्ल्याण्डका लागि एक विकल्प मात्रै विद्यमान छन् । इंग्ल्याण्डले बाँकी रहेको दुबै खेल जिते मात्रै न्युजिल्याण्डसँगको फाइनलको स्पर्धा तय गर्नेछ । अष्ट्रेलियाका लागि तीन वटा विकल्प बाँकी छ । भारत र इंग्ल्याण्डबीचको श्रृखंलाको बाँकीको दुई खेलमध्ये एक एक खेल दुबैले जिते न्युजिल्याण्डसँगको फाइनलमा अष्ट्रेलियाले स्थान सुनिश्चित गर्नेछ । बाँकीको दुबै खेल बराबरी भए वा बाँकीको दुईमध्ये एउटामा इंग्ल्याण्डले जिते र अर्को बराबरीमा सम्पन्न भए पनि अष्ट्रेलिया फाइनल पुग्न छनोट हुनेछ ।