खेलकुद |

पीएसजीले बार्सिलोनालाई हरायो

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ५ गते । पेरिस सैन्ट जर्माइन(पीएसजी)ले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई हराएको छ । पीएसजीको जितमा कायल म्बाप्पेले हयाट्रिक गोल गर्नुभयो ।
साबिक उपविजेता बार्सिलोनाले लियोनल मेस्सीको २७ औं मिनेटको गोलबाट अग्रता लिए पनि त्यसपछि पीएसजीको आक्रमणलाई रोक्न नसक्दा फराकिलो अन्तरको हार बेहोर्नुपर्यो । मेस्सीले २७ औं मिनेटमा पाउनुभएको पेनाल्टीलाई गोलमा परिणत गर्नुभयो ।
कायल म्बाप्पेले ३२ औं मिनेटमा क्लिमेन्ट लेन्ग्लेटलाई छिचोल्दै पीएसजीका लागि बराबरी गोल गर्नुभयो । पहिलो हाफ १–१ को बराबरीमा सम्पन्न भयो । ६५ औं मिनेटमा म्बाप्पेले गोल थप्दै बार्सिलोनामाथि २–१ को अग्रता बनाउनुभयो ।
ऋणमा इभर्टनबाट पीएसजी पुग्नुभएका स्ट्राइकर मोइज किनले ७० औं मिनेटमा गोल गर्दा पाहुना टोलि ३–१ को अग्रताको स्थिति पुग्यो । बार्सिलोनाले गोल फर्काउने प्रयत्न गरिरहँदा कायल म्बाप्पेले ८५ औं मिनेटमा थप एक गोल गरेर आफ्नो हयाट्रिक गोल पुरा गरेर पीएसजीको ४–१ को जित सुनिश्चित गर्नुभयो ।
दोस्रो लेग पेरिसमा २० मार्चमा हुनेछ । त्यत्तिबेलासम्म पीएसजीले आफ्नो प्रमुख खेलाडी नेयमार समेत चोटमुक्त भएर फर्किसक्ने अपेक्षा गरेको छ ।