मार्क ऊड आईपीएलबाट नाम फिर्ता लिने
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । इंग्ल्याण्डका तीव्र गतिका बलर मार्क ऊड इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणबाट नाम फिर्ता लिनुहुने भएको छ । बिहीबार आईपीएलको आगामी संस्करणको खेलाडी निलामी प्रकृया सुरु हुँदैछ ।
भारतविरुद्धको पहिलो दुई टेष्ट खेल गुमाउनुभएका ३१ वर्षीय मार्क ऊडले अन्तिम दुई टेष्टका लागि हालै टोलीमा पुनरागमन गर्नुभएको छ । कुनै फ्रेञ्चाइजले उहाँलाई खरिद गरेको अवस्थामा उहाँ जुन महिनासम्म इंग्ल्याण्डका लागि खेल्न असमर्थ हुनुहुन्थ्यो ।
इंग्ल्याण्डबाट प्रिमियर लिगमा १६ जना खेलाडी निलामी प्रकृयामा सहभागी हुँदैछन् । अन्य आठ खेलाडीलाई फ्रेञ्चाइजले कायम राखेका छन् । इंग्ल्याण्डले खेलाडीहरुलाई एकान्तर भ्रमण गराउँदै आएको छ । श्रीलङ्का भ्रमण गरेको कतिपय खेलाडी भारत भ्रमणमा छैनन् ।
बेन्न स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, साम कर्रन र जोनी बैरिष्टो आइपीएलको पछिल्लो संस्करणमा सहभागी हुनुभएको थियो । र यसपटक पनि अप्रिलदेखि जुन महिनासम्म हुने प्रिमियर लिगमा सहभागी हुनेछन् ।
भारत विरुद्धको अन्तिम दुई टेष्ट नखेलेर घर फिर्ता हुन लागेका मोइन अलि भने प्रिमियर लिगको निलामी प्रकृयामा सहभागी हुनुहुनेछ । मार्क ऊड आईपीएल नखेल्ने भएपछि उहाँ न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टेष्ट श्रृखंलाका लागि उपलब्ध हुनुहुनेछ ।