शीर्ष स्थानको एटलेटिको मड्रिड बराबरीमा रोकियो
गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । एटलेटिको बराबरीमा रोकिएसँगै दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनाले नजिकको चुनौती सामना गर्न पाउने भएको छ ।
लेभान्टेले इनिस बार्दीको पहिलो हाफको गोलमा एटलेटिको मड्रिडमाथि अग्रता बनाउन सफल भयो । बार्दीले १७ औं मिनेटमा गोल गर्नुभयो । जर्ज डे फ्रुटोसको प्रहारलाई उहाँले गोलको दिशा दिनुभयो । तर एटलेटिकोले लेभान्टेको उक्त अग्रतालाई लामो समयसम्म टिक्न दिएन । र हाफ टाइम आउन केही मिनेट मात्रै बाँकी रहँदा एटलेटिकोले मार्कस लोरेन्टेको गोलमा बराबरी फर्कायो । लोरेन्टेले ३७ औं मिनेटमा गोल गर्दा खेल १–१ को बराबरीमा आयो । दोस्रो हाफमा कुनै टोलिले गोल थप्न सकेनन् ।
पछिल्लो तीन खेलमा दोस्रो पटक बराबरी खेलेको एटलेटिको दोस्रो स्थानको रियलभन्दा छ अङ्कको अग्रता कायम गर्दै ५५ अङ्क जोडेको छ । तेस्रो स्थानको बार्सिलोनाको ४६ अङ्क छ ।