खेलकुद |

बैंग्लौरले म्याक्सवेलाई किन्यो, स्टिभ स्मिथ देल्ही पुगे

गोरखापत्र अनलाइन
काठमाडौं, फाल्गुन ६ गते । अष्ट्रेलियाका अलराउन्डर ग्लैन म्याक्सवैललाई रोयल च्यालेन्जर्स बैंग्लौरले किनेको छ । इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणका लागि सुरु भएको निलामी प्रकृयामा म्याक्सवेललाई बैंग्लौरले किनेको हो ।
तेस्रो खेलाडीको रुपमा निलामीमा चढाइएका म्याक्सवेलको आधार मूल्य दुई करोड तोकिएको थियो । कलकत्ता नाइट राइडर्सले तीन करोड बोली लगाउँदा बैंग्लौरले चार करोड मूल्य लगायो । कलकत्ता पछि हट्दा चेन्नई र बैंग्लौरबीच म्याक्सवेललाई खरिद गर्ने विषयमा बोली बढाबढ भयो । चेन्नई अन्त्यमा १४ करोड मूल्य लगाउँदा बैंग्लौरले १४ करोड २५ लाखसम्म पुग्यो । त्यसपछि चेन्नईले बोली लगाउन छोडेपछि ग्लैन म्याक्सवैललाई बैंग्लौरले खरिद गर्ने पक्का भएको हो ।
बिग बैश लिगमा म्याक्सवैलले प्रतिनिधित्व गरेको मेलबर्न स्टार्सका प्रशिक्षकमध्येका एक स्टिफन फ्लेमिङ्ग आईपीएलमा चेन्नईका प्रशिक्षक हुनुहुन्छ ।
खेलाडी खरिद गर्न चेन्नईलाइृ १९ करोड ५० लाख रुपियाँ रहेकोमा म्याक्सवैलकै लागि १४ करोडसम्म बोली लगाएको थियो ।
मोइन अलि चेन्नइ पुगे
चेन्नईले इंग्ल्याण्डका अलराउन्डर मोइन अलिलाई खरिद गरेको छ । मोइन अलि सात करोडमा खरिद गरिएका हुन् । त्यसैगरी शिवम दुबेलाई राजस्थान रोयलले चार करोड ४० लाखमा किनेको छ । बङ्गलादेशका अलराउन्डर शकीब अल हसन कलकत्ता पुग्नुभएको छ । उहाँलाई कलकत्ताले तीन करोड २० लाखमा खरिद गरेको छ ।
अष्ट्रेलियाकै अर्का ब्याट्सम्यान स्टिभ स्मिथलाई देल्ही क्यापिटल्सले खरिद गरेको छ । देल्हीले स्टिभमा दुई करोड २० लाख खर्चेको छ ।